|

बागलुङ : बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। बागलुङ नपा–४ कुडुले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नपा–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै नागरिकको यात्राको समय छोट्टिएको छ। अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्य रूपमा बढेको छ।

झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल थपिएको एक वर्षमै बागलुङ नपा–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नपा–१ रत्नेचौर जोड्ने गरी ३८८ मिटर लामो झोलुंगे पुल निर्माण शुरु भएको थियो।

कुडुलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरण गर्न मात्रै बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। 'बागलुङ र म्याग्दी जिल्ला जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ', खड्काले भने, 'पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौं, ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण सम्झौताअनुसारको सबै काम सम्पन्न गरेका छौं।'

संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौँले म्याग्दीको बेनी नपा–१ रत्नेचौरदेखि बागलुङ नपा–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो।

कुँडुलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुंगे पुल रु. तीन करोड ५० लाखमा निर्माण गरिएको छ।  उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नपा–४ का वडा अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए। पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनुका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षेत्रीको भनाइ छ। 

सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न भएको हो। गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो। पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारभन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ। बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयको भनाइ छ। बेनीको रत्नेचौर र बागलुङको कुडुले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यो वर्ष पुल निर्माणसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीय टेकबहादुर रावलले जानकारी दिए।

पुल निर्माणसँगै धार्मिक गन्तव्यको रूपमा विकास भइरहेको बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम संग्रहालय अवलोकन गर्न आउनेको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानका बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोवारका लागि बागलुङ आउने भएकाले दुई जिल्लाको सम्बन्ध बढाएर यात्रा छोट्टाउन पुल निर्माण गरिएको  हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.