|

सल्यान : सल्यानको शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको दरदैलोमै पुगेर निःशुल्क उपचार शुरु गरेको छ। स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई  स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो।

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले जानकारी दिए। घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ लगायतका उपचार गर्ने उनको भनाइ छ।

पालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गर्दै आइरहेको बबालले बताए। उनले भने, ‘अहिले वर्षमा चारपटक तीन महिनाको फरकमा सेवा दिने व्यवस्था मिलाएका छौं। विस्तारै यसलाई बढाउँदै महिनामा एकपटक निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पहल गर्नेछौँ।’

गम्भीर समस्या भएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि सल्यान जिल्ला अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए । नगरपालिकाले जिल्ला अस्पतालमा पुर्‍याइएका बिरामीको उपचार खर्चसमेत व्यहोरिरहेको छ ।

पालिकाभरका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको शारदा नगरपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र हमालले बताए। उनका अनुसार पालिकाका १५ वडामा ७० वर्षमाथिका झन्डै दुई हजार ज्येष्ठ नागरिक छन्। 
ज्येष्ठ नागरिकलाई विभिन्न परामर्श दिएर उनीहरूको खानपिन र आनीबानीमा परिवर्तन गराएको स्थानीय स्वास्थ्यकर्मी सरिता शर्माले बताइन्। उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप, मधुमेह, दम, खोकीलगायत दीर्घरोगको समस्या बढी देखिएकाले खानपानमा विशेष ध्यान दिन आग्रह गरिएको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.