सुर्खेत : ‘ओखर जोन’ लागू भएको जाजरकोटमा कृषकलाई व्यावसायिक बनाउन‚ अर्थोपार्जन गर्न गाउँ गाउँमै गएर प्रशिक्षण तथा तालिम दिन लागिएको छ। प्राविधिक ज्ञान दिएर ओखर खेती अब्बल बनाउन गाउँ गाउँ गएर खेतबारीमै प्रयोगात्मक तालिमसहित प्रशिक्षण दिन थालिएको हो।
जिल्लाभरि २४५ हेक्टरमा ओखर खेती शुरु गरिएकोमा यो आर्थिक वर्ष ०७९/८० मा २५ हेक्टर क्षेत्रफलमा ओखर खेती थप विस्तार गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटका धरम चन्दले जानकारी दिए।
जाजरकोटलाई ओखर खेतीका लागि अब्बल जिल्लाका रुपमा लिइएको छ। यहाँ ओखर खेती गर्न सकिने भए पनि प्राविधिक ज्ञान अभावमा समस्या पर्ने गरेको खेती गर्दै जाँदा आफूहरूले अनुभव गरेको तालिममा सहभागी किसान राधिका मल्लले बताइन्। तालिम पाएपछि ओखरको संरक्षण र हेरचाहका बारेमा ज्ञान पाएको मल्लले बताइन्।
सदरमुकाममा पनि तीनदिने ओखर खेतीसम्बन्धी जिल्लास्तरीय तालिम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सबैले प्राविधिक ज्ञानको अभावमा ओखर खेती फस्टाउन नसकेको बताएका छन्।
तालिममा उन्नत प्रविधि, प्राथमिक प्रशोधन, ओखर टिपेपछिको व्यवस्थापन, कृषि यान्त्रिकीकरण लगायतका विषयमा व्यापक छलफल भएको भएको थियो।
ओखर खेतीको उन्नत प्रविधिसहित क्षेत्रफल विस्तार गरी ओखरको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकको ज्ञान‚ शिप र धारणमा सकारात्मक परिवर्तन ल्याउन तालिम आयोजना गरिएको तालिम संयोजक चन्दले जानकारी दिए।
परियोजना कार्यान्वयन एकाई जाजरकोटमा सूचीकृत कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्म, नर्सरी उद्योगका सदस्यहरूलाई ओखर खेतीसम्बन्धी तालिम नलिएका कृषकलाई तालिममा समावेश गरिएको उनले बताए।
परियोजना कार्यान्वयन एकाईका प्रमुख दिपेन्द्र पोखरेल, कृषि क्षेत्र विकास कार्यक्रमका प्रमुख सुरज भारतीले किसानका समस्या र जिज्ञासाबारे विस्तृत छलफल गरी निराकरणका लागि खेतबारीमै पुग्ने जानकारी दिएपछि तालिममा सहभागी उत्साहित भएका छन्।
तालिममा सिकेका शिप गाउँघरमा गएर अरुलाई समेत सिकाउने प्रतिबद्धता उनीहरूले गरेका छन्। कुशे, बारेकोट र नलगाड नगरपालिकामा ‘ओखर जोन लागू भएको छ।
ओखर खेतीसँगै साना सिँचाइअन्तर्गत सिँचित क्षेत्रफल विस्तार गर्नुका साथै विभिन्न किसिमका यन्त्र, उपकरण अनुदानमा वितरण गर्ने जानकारी कार्यालयका प्रमुख पोखरेलले दिए। जोन सञ्चालन भएको ४ वर्षमा सुन्तलालगायत फलफूलका बिरुवा उत्पादनमा आत्मनिर्भर भई बिरुवा निर्यात हुन थालेको छ।
ओखर जोन सञ्चालन भएयता ओखर नर्सरीको पनि स्रोत केन्द्र विकास गरि ओखरका बिरुवामा आत्मनिर्भर हुने तथा बाहिरी देशका बिरुवालाई आयात प्रतिस्थापन गर्दै जुम्लाका स्थानीय बिरुवा प्रवर्द्धन गरिनुपर्नेमा संयोजक चन्दले जोड दिए।
उन्नत प्रविधिसहित ओखर खेती क्षेत्रफल विस्तारसम्बन्धी परामर्श दिनुका साथै ओखरको बगैंचा स्थापना गर्दा बगैंचा रेखाङ्कन, खाडल खन्ने पुर्ने, बिरुवा लगाउने दूरी, मलखाद तथा सिँचाइ व्यवस्थापन, बिरुवामा काँटछाँटलगायत विषयमा समेत ज्ञान पाएपछि किसान खुशी भएको बारेकोट गाउँपालिका-२ रोकाया गाउँ सुन्दर कृषि फर्मकी सञ्चालक किसान ममिता पुनले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।