|

काठमाडौं : काठमाडौंको जोरपाटी बस्दै कृष्णबहादुर केसीले दैनिक ज्यालादारी काम गर्न थालेको वर्षाैं भयो।  ज्यालादारीबाट आएको पैसाले घर खर्च धानेर गोकर्णेश्वर नगरपालिकामा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थामा बचत गर्न थाले। उनले यसरी बचत गर्न थालेको करिब २ वर्ष भयो। 

थोरै थोरै पैसा जम्मा गर्दा अप्ठ्यारो परेका वेला अरूको भर पर्न नपर्ने भन्दै उनले सहकारीमा पैसा जम्मा गरे। दुःखमा सहायता हुने आसले जम्मा गरेको पैसाले यति वेला केसीलाई उल्टै दुःख दिन थालेको छ।

केही दिनअगाडि छोरी बिरामी परिन्। उपचार गर्ने पैसा अरुसँग खोज्नुभन्दा आफूले गरेको बचत रकम लिन जोरपाटीमा रहेको मञ्जुश्री सहकारीमा पुगे उनी। सहकारीको ढोकामा ताला लागेको थियो। कुनै समस्याले होला भन्दै उनी २ दिनसम्म लगातार धाए तर सहकारीका कर्मचारी भेट्टाउनै सकेनन्। 

सो सहकारीको ढोकामा उनीजस्तै बचत गरेको रकम लिन आउनेको भीड लाग्न थालेपछि मात्र उनले सहकारी बचतकर्ताको रकम नतिरी फरार भएको जानकारी पाए।

करिब २ लाख बचत भएका केसीले सञ्चालकसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमै आएनन्। आफ्नो कमाइको बचत दुःखको साथी सोचेर बचत गरेको पैसाले उल्टै दुःख दिएको उनले सुनाए।

त्यसैगरी रामेछाप घर भएका रामु तामाङले आफ्नी दिदीले विदेशमा बसेर दुख गरेको पैसा मञ्जुश्रीमा बचत गरे। करिब एक वर्षअघि साढे ८ लाख बचत गरेका थिए।

एक वर्षका लागि राखेका तामाङ कात्तिकमा म्याद थप (रिन्यु) गर्नका लागि गए। अरू बचतकर्ता पैसा फिर्ता माग्दै धर्ना दिइरहेका थिए। के भएको भन्दै सोधीखोजी गर्दा बचत गरेको पैसा नदिई सहकारी सम्पर्कविहीन भएको जानकारी पाए। 

सहकारीको भित्तामा एउटा सूचना टाँसिएको थियो‚ जसमा लेखिएको थियो ‘नेपाल सरकारको एकीकरण नीतिअनुसार मञ्जुश्री साकोस जोरपाटी र सुमो साकोस खरिबोटबीच सम्झौता भएकाले दुवै सहकारीमा बचतकर्ताले ३५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध छ। त्यसका अलावा कार्यालय बन्द हुनेछ।’

सो सूचना देखेर तामाङ छाँगाबाट खसेजस्तो भए। सहकारीका कर्मचारीलाई थप बुझ्न खोज्दा जानकारी दिन चाहेनन्। सो सहकारी दिउँसो १० देखि १२ बजेसम्म मात्र खुल्ला हुन्थ्यो।  

१८ मंसिरमा पैसा लिन आउनु भनेर सहकारीले आश्वासन दिएको थियो। सोहीअनुसार बचतकर्ताहरू कार्यालय पुगे तर कार्यालयमा ताला लागेको थियो। पैसा फिर्ता पाउने आश मारेका तामाङसहित बचतकर्ताहरू सहकारीका अध्यक्ष इन्द्र लामाको घरमा धर्ना दिन पुगे। सोमबार बिहान आउनु भन्दै उनले पनि आश्वासन दिएर फर्काए।  

त्यसैगरी यति वेला सो सहकारीमा रकम बचत गरेका जितेन लामा ३५ लाख, उमेश खतिवडा १४ लाख‚ भगवती मिजार ६ लाख, डोल्मा लामा २३ लाख बचत रकम भुक्तानी माग्दै अध्यक्ष लामाको घरसम्म पुगे।

पहिलो चरणमा  कार्यालयमा रकम भुक्तानीको माग गरेका बचतकर्ताले सहकारी विभागमा उजुरी गर्ने तयारी गरेका छन्। पैसा कमाउन दुःख गरेका श्रमिक यति वेला बचत गरेको पैसा कसरी लिने भन्ने चिन्तामा छन्।

यी त मञ्जुश्री सहकारीमा रकम बचत गर्ने हजारौं बचतकर्तामद्देका केही प्रतिनिधि पात्र मात्र हुन्। मञ्जुश्री सहकारीका बचतकर्ताको अवस्था उस्तै छ।

बचतकर्ताले ११ करोड रकम पाउन बाँकी रहेको सहकारीले नै स्वीकारेको छ। सहकारीले ठगी गर्‍यो भनेर सार्वजनिक गर्दा परिवारमा तनाव बढ्ने भएकाले सञ्चारमाध्यमसँग बताउन पनि रुचाउँदैनन्। 

यता मञ्जुश्री सहकारीका अध्यक्ष इन्द्र लामाले भने बचतकर्ताको भुक्तानी तत्काल फिर्ता गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

‘बचतकर्ताको पैसा नतिर्ने नियत होइन तर तत्काल फिर्ता गर्नका लागि हामीसँग पैसा छैन। सञ्चालक समितिको आन्तरिक समस्याका कारण पैसा फिर्ता गर्न नसकेका हौं‚’ उनले भने‚ ‘हामीसँग  सम्पत्ति छ (घरजग्गा) छ तर अहिले बेचबिखन गर्न सक्ने अवस्था छैन।’  

सञ्चालक समितिका पदाधिकारीको म्याद गएको असारमै सकियो। साउनमा साधारण सभा पनि भयो तर पहिलाको जस्तो भएन।

‘सुमो सहकारीसँग मर्ज गर्ने प्रक्रिया अगाडि बढाइएको छ तर त्यो पनि पूरा हुन सकेको छैन‚’ उनले भने। यति वेला बचतकर्ताको ११ करोड तिर्न बाँकी रहेको उनले सुनाए। बजारबाट ७ करोड उठ्न बाँकी रहेको पनि उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.