'मंसिर २८ सम्म मत परिणाम राष्ट्रपतिलाई बुझाउँछौँ'

|

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया पूर्ण रुपमा नटुंगिएसम्म आचारसंहिता लागू नै रहने जनाएको छ।

आचारसंहिता कार्यान्वयनका सम्बन्धमा कानूनले स्पष्ट रुपमा आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र निर्वाचनका सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म लागू नै रहने बताएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले तोकिएको समयमा आचारसंहिता लागू भएको र निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म लागू नै रहने स्पष्ट पारे।

उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले नसकिएकाले आचारसंहिता पनि लागू नै रहने बताए।

उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको टुंगो लागिसकेपछि हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिटमध्ये वर्ग समूह मिलाएर बन्दसूचीबाट सांसदको नाम पेश गर्नुपर्ने उल्लेख गरे।

उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए।

उनले भने, ‘आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू गर्न सक्नेछ भन्ने छ। निर्वाचन, प्रचलन, व्यवस्थापन र कानूनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहिता लागू रहन्छ। हामी अहिले निर्वाचनकै क्रममा छौँ‚’ उनले भने‚ ‘समानुपातिक निर्वाचनको पनि गणना अहिले चलिरहेको छ। समानुपातिकको सबै मतको हिसाब गरिसकेपछि दललाई यति दिनभित्र प्राप्त सिट संख्यामद्देबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेश गर्नु भनिन्छ, नमिले फेरि पठाइन्छ। आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपतिकहाँ बुझाएर परिणाम प्रकाशन नगरुन्जेलसम्म आचारसंहिता लागू भएकै अवस्था हो।’

सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सबै काम सकेर राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने बताए। उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताए।
 
उनले भने, ‘समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिँदैन। आयोगले चाहेर मात्रै नहुने कुराहरू पनि छन्। केही प्रक्रिया लम्बिन सक्छ। हामी २६/२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपतिसमक्ष पेश गर्न सक्नेछौँ।’

सहायक प्रवक्ता अर्यालले आयोगको योजनाअनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.