‘एमालेसँग गठबन्धन गर्ने विषय प्रवेश नै भएको छैन’

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए। गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको र आफूहरू गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उनले उल्लेख गरे।

उनले पार्टीले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे। गठबन्धनको बैठक सोमबार बस्ने जानकारी दिँदै उनले सो बैठकमा निर्वाचनको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर छलफल हुने बताए।

उनले भने‚ ‘सरकार गठनबारे उल्लेखनीय रुपमा विषय प्रवेश भएको छैन। अहिले गठबन्धनकै प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको हुनाले गठबन्धनमै रहेर सोच्न कुरा त स्वाभाविक प्रक्रिया नै भयो। त्यसैले छिट्टै गठबन्धनको बैठक बस्नुपर्छ भन्ने कुरा भएको छ। बैठक बसेर निर्वाचनसँग जोडिएका कतिपय सीमाको, कतिपय कमी कमजोरीको पनि समीक्षा गरौँ र कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि मोटामोटी छलफल गरौं भनेर भोलि गठबन्धनको बैठक पनि आयोजना भएको छ।’

उनले सरकार गठनको विकल्पहरूबारे कुनै छलफल वा कुराकानी नभएको बताए। 

‘सरकार गठनबारे कुनै कुराकानी शुरु भएकै छैन। अहिले गठबन्धनमै भएको हुनाले गठबन्धनमा कुनै विमति पैदा भएर, कुनै असहमति पैदा भइसकेको अवस्था होइन। गठबन्धन तोड्नुपर्छ‚ फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन अहिले‚’ उनले भने‚ ‘गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धन अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन्। त्यो गठबन्धनमा निर्भर रहने विषय भयो। त्यसो भएको हुनाले अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन।’

महासचिव गुरुङले नेकपा एमालेसँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताए। उनले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको समेत स्पष्ट पारे।  माओवादी केन्द्रले सरकार गठनका लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उनले बताए।

‘एमालेसँग गठबन्धन गर्ने कुरामा विषय प्रवेश नै भएको छैन। अहिले गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन। गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा शुरु भएको छैन‚’ उनले भने‚ ‘अहिले गठबन्धनबाट नै पहिलो प्रयास हुने कुरा स्वतः भइहाल्यो। भोलि गठबन्धनको बैठक पनि छ। त्यसकारण मूलभुत रुपमा यिनै कुरा रहेका छन्। एमालेसँगको गठबन्धनको विषयमा विषय प्रवेश नै भएको छैन।’ 

महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरेअनुरुप नआए पनि सफल र परिणाममुखी नै भएको बताए। निर्वाचन परिणाम स्वीकार्दै र कमी कमजोरीहरू सुधार्दै पार्टी सुदृढ बनाउँदै अघि बढाउने बैठकको निष्कर्ष रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.