|

विराटनगर : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टी‚ राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले जनादेश पाउनु चिन्ताको विषय भएको बताएका छन्।

आज(आइतवार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले प्रतिनिधिसभा र प्रदेशसभाको परिणामप्रति सङ्केत गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन्।

अहिलेको निर्वाचनमा केही महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको र मधेश नेपाल नै होइन भन्ने जनमत पार्टीले जनादेश पाएको भन्दै उनले आफू चिन्तित भएको बताए।

यादवले भने, ‘घण्टी छाप आएको छ। चुनावअघि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो। ‘मधेश इज नट नेपाल’ मूल स्लोगन भनेर आएको जनमत पार्टीले जनादेश पायो। जनमत पार्टी मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो।’

यादवले राजतन्त्र फर्काउने एजेण्डा लिएको राप्रपाले पनि धेरै मत पाउनु अध्ययनको विषय भएको दाबी गरे।

उनले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो। यो अध्ययनको विषय हो।’

घण्टी‚ राप्रपा र जनमत पार्टीले ल्याएको मत देशका लागि अग्रगमन हुन नसक्ने बताउँदै प्रजातान्त्रिक आन्दोलनले ल्याएका उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो।

त्यसका पक्षपातीहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।

यादवले भने‚ ‘यो जनादेशले जसले परिवर्तन ल्याए ती क्रान्तिकारी शक्ति पछि परेका छन्। परिवर्तनका लागि भएका आन्दोलन हँसीमजाक जस्ता हुन पुगे।’ यस्तो हुनु दुर्भाग्यपूर्ण भएको उनको कथन छ।

अब आफ्नो पार्टी निर्णायक नभएको स्विकार्दै उनले चुनावबाट काँग्रेस र एमाले निर्णायक शक्ति बनेको बताए। राष्ट्रिय सवालमा भने आफूहरूले विगतदेखि उठाइरहेको मुद्दा उठाउने जनादेश मिलेको बताए।

एमालेसँगको चुनावी सहकार्य सकियो

यसैगरी यादवले एमालेसँगको सहकार्य चुनावसँगै सकिएको बताएका हुन्। आफूहरूले चुनावका लागि केही ठाउँमा तालमेल गरेको स्वीकार गर्दै उनले भने, ‘हाम्रो मोर्चाबन्दी र तालमेल होइन।’

आफूहरूले केही सिटमा सहयोग गरेको र एमालेले पनि केही ठाउँमा आफूलाई सहयोग गरेको यादवले बताए।

‘त्यो सहकार्य चुनावसँगै सकियो’, यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ।’

सत्तापक्ष र प्रतिपक्षको कित्तामा उभिने निर्णय भएको छैन

उनले सरकार बनाउने प्रसंगमा तत्काल सत्तापक्ष र प्रतिपक्षको कित्तामा उभिने निर्णय आफ्नो पार्टीले गरिनसनेको बताए। सम्पूर्ण चुनावी परिणाम आइसकेपछि कार्यकारिणी समितिको बैठक बसेर सरकार बनाउने पार्टीले केका लागि सरकार बनाउने र आफूहरूले उठाएका मुद्दा के हुन्छन् लगायतका कुरा बुझेर निर्णय गर्ने बताए।

उनले सरकारमा बस्ने कि जाने भन्ने विषयमा अहिले हतार नभएको बताउँदै उनले भने, ‘हतार त काँग्रेस, एमाले त्योभन्दा बढी माओवादीका साथीहरूलाई देख्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.