|

काठमाडौं : एशियाका लागि विश्वकप २०२२ ऐतिहासिक साबित भएको छ।

यसअघि सन् २०१८ को विश्वकप फुटबलमा एशियाबाट ५ टोलीले सहभागिता जनाएका थिए। त्यो नै एउटै विश्वकपमा एशियाबाट सबैभन्दा बढी देशको सहभागिता थियो।

यसपटकको विश्वकपमा एशियाबाट ६ देशले सहभागिता जनाएका थिए। जुन विश्वकप फुटबलको इतिहासमै सबैभन्दा धेरै हो।

त्यतिमात्र होइन ३ देशले समूह चरण पार गर्दा एशियाका लागि अर्को कीर्तिमान बनेको छ।

पहिलो पटक विश्वकप खेलेको कतारसहित इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिँदा जापान, कोरिया र अष्ट्रेलियाले अन्तिम १६ मा स्थान बनाएका थिए।

समूह चरणबाटै बाहिरिए पनि साउदी अरेबियाले उपाधिको दाबेदार मानिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई हराउनु यो विश्वकपको पहिलो अनपेक्षित नतिजा थियो। 

साथै जापानले ४ पटकको विश्व विजेता जर्मनी र एक पटकको विजेता स्पेनलाई हराउँदै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई र अष्ट्रेलियाले ट्युनिसिया तथा डेनमार्कलाई हराएको थियो। 

सन् १९६६ मा पहिलो पटक विश्वकपमा भाग लिएको उत्तर कोरियाले क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो। जुन कुनै पनि एशियाली देशले समूह चरण पार गरेको पहिलो पटक थियो।

त्यसपछि सन् १९९४ मा साउदी अरेबिया, सन् २००२ मा जापान र दक्षिण कोरिया, सन् २००६ मा अष्ट्रेलिया, सन् २०१० मा जापान र दक्षिण कोरिया, सन् २०१८ मा जापानले समूह चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएका थिए। 

यो पटक समूह चरण पार गरेका अष्ट्रेलिया, जापान र दक्षिण कोरियामध्ये अष्ट्रेलिया अर्जेन्टिनासँग पराजित हुँदै विश्वकपबाट बाहिरिइसकेको छ भने जापान र दक्षिण कोरिया क्वार्टर फाइनल प्रवेशका लागि क्रमशः क्रोएशिया र ब्राजिलसँग प्रतिस्पर्धा गर्दै छन्। 

सोमबार हुने पहिलो खेलमा जापानले साबिक उपविजेता क्रोएशियाको सामना गर्दैछ। फिफा वरीयतामा १२ औँ स्थानमा रहेको क्रोएशिया र २४ औँ स्थानमा रहेको जापान यसअघि ३ पटक आमुन्नेसामुन्ने भइसकेका छन्।

जसमा सन् १९९७ मा आयोजित किरिन कपमा जापानले क्रोएशियालाई ४-३ गोल अन्तरले हराएको थियो भने सन् १९९८ को विश्वकपमा १-० ले पराजित भएको थियो। पछिल्लो पटक सन् २००६ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गरेका जापान र क्रोएशियाले गोलरहित बराबरी खेलेका थिए।

अघिल्लो विश्वकप फाइनलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित क्रोएशिया यो पटक विश्वकप जित्ने प्रयासमा रहेको छ भने चौथो पटक समूह चरण पार गरेर अन्तिम १६ मा प्रवेश गरेको जापान पहिलो पटक क्वार्टर फाइनल खेल्दै आफ्नो विश्वकप यात्रालाई अझ लम्ब्याउने प्रयासमा रहनेछ। 

५ पटकको विश्व विजेता ब्राजिलसँग भिड्न लागेको अर्को एशियाली टोली दक्षिण कोरियाले तेस्रो पटक समूह चरण पार गरेको हो।

फिफा वरीयतामा पहिलो नम्बरमा रहेको ब्राजिल उपाधिको दाबेदार पनि हो। २८ औँ नम्बरमा रहेको दक्षिण कोरियाले अहिलेसम्म ७ पटक ब्राजिलविरुद्ध खेलेको छ। जसमा ६ पटक ब्राजिलले जितेको छ भने १ पटक दक्षिण कोरियाले नतिजा आफ्नो पक्षमा पारेको छ। 

सन् २००२ को विश्वकपमा सेमिफाइनल खेलेको दक्षिण कोरिया २० वर्षपछि फेरि उपाधिको नजिक पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। ११ औँ पटक विश्वकप खेलिरहेको टोलीले सन् २०१० मा पनि समूह चरण पार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.