|

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा प्रि-क्वार्टर फाइनलको अन्तिम खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्दै छन्। दुई चिर परिचित प्रतिद्वन्द्वी क्वार्टर फाइनल प्रवेशका लागि मंगलबार राति भिड्न लागेका हुन्।

पोर्चुगल र स्विट्जरल्याण्ड पहिलोपटक सन् १९३८ को विश्वकपमा भेट भएका थिए। जुन खेलमा पोर्चुगल २-१ गोल अन्तरले पराजित भएको थियो।

त्यसपछि अहिलेसम्म दुई टोली २६ पटक आमुन्ने सामुन्ने भइसकेका छन्। जसमा स्विट्जरल्याण्डले ११ पटक जितेको छ भने पोर्चुगलले ९ पटक मात्र जित निकालेको छ। ६ खेल बराबरीमा रोकिएका छन्। 

२६ मध्ये ९ पटक दुवै टोलीले विश्वकपमै प्रतिस्पर्धा गरेका हुन्। जसमा पोर्चुगल ४ पटक विजयी भएको छ भने स्विट्जरल्याण्डले ३ पटक जित निकालेको छ।

दुई खेल बराबरीमा रोकिएका छन्। फिफाको वर्तमान वरीयताअनुसार पोर्चुगल नवौँ नम्बरमा छ भने स्विट्जरल्याण्ड १५ औँ नम्बरमा छ। 

समूह चरणमा घाना र उरुग्वेलाई हराएको पोर्चुगलले दक्षिण कोरियासँग पराजित भए पनि समूह ‘एच’को विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको हो भने समूह ‘जी’मा रहेको स्विट्जरल्याण्ड उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

क्यामरुन र सर्बियालाई हराएको स्विट्जरल्याण्ड ब्राजिलसँग पराजित भएको थियो।

आठौँ पटक विश्वकप खेलिरहेको पोर्चुगल अहिलेसम्म दुई पटक सेमिफाइनलसम्म पुगेको छ। पोर्चुगल आफ्नो पहिलो विश्वकप सन् १९६६ मा तेस्रो र सन् २००६ मा चौथो भएको थियो।

सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको स्विट्जरल्याण्डको यो १२ औँ सहभागिता हो। तीन पटक क्वार्टरफाइनलसम्म पुगेको टोली त्यहाँभन्दा माथि जान सकेको छैन।

सन् १९३४ र सन् १९३८ मा क्वार्टर फाइनल खेलेको स्विट्जरल्याण्ड पछिल्लो पटक सन् १९५४ मा क्वार्टर फाइनलसम्म पुगेको थियो। 

विश्वप्रसिद्ध खेलाडी क्रिस्चियानो रोनाल्डोको अन्तिम विश्वकप भएकाले पनि यो खेललाई महत्त्वका साथ हेरिएको छ।

स्विट्जरल्याण्डका लागि पोर्चुगलका ब्रुनो फर्नान्डेस खतरा साबित हुन सक्छन् भने पोर्चुगलले स्विट्जरल्याण्डका ब्रिल एम्बोलोलाई ‘मार्क’ गर्नुपर्ने खेलाडीको सूचीमा राख्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.