जनचेतना जगाउँदै विद्यार्थी, खोप लगाउन शुरु

|

काभ्रे : जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा रेबिजको आतंक फैलिएको छ। केही दिनअघि मरेका दुईवटा गाईमा रेबिज पुष्टि भएसँगै स्थानीय त्रसित छन् । 

स्वास्थ्य कार्यालयको तथ्यांकका अनुसार काभ्रेमा ०७७ चैतयता प्राणघातक रेबिजबाट ६ जनाले ज्यान गुमाईसकेका छन्।

त मंसिर १३ गते महाभारत गाउँपालिका–१ गोकुलेकी थिरमाया श्रेष्ठ र वडा नं. ८ को घर्तिछापस्थित् हाडीगाउँको सन्तबहादुर भनेर चिनिने भीमबहादुर आलेको समेत गरी दुईवटा गाई मरेपछि गाडिएको थियो।

रेबिजको आशंका लागेर जिल्ला स्वास्थ्य कार्यालय काभ्रे र गाउँपालिकाका पशु प्राविधिकहरुको टोलीले गाडेको अवस्थामा दुवै पशुको परीक्षण गर्दा रेबिज पोजेटिभ देखिएको हो ।

केही दिनअघि मरेको पशुमा रेबिज पुष्टि भएसँगै एक महिनाअघि मासु खाएका स्थानीय त्रसित भएका छन्। यसअघि मंसिर १० गते शनिबार महाभारत–१ गोकुलेका ताराबहादुर रानाको बंगुर मरेको थियो। एकपछि अर्को गर्दै पशु मार्न थालेपछि स्थानीय झन् डराएका हुन्। 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले मरेर गाडेको पशुमा रेबिज पुष्टि भएको बताए। उनले पशुबाट मान्छेमा रेबिज फैलन नदिन पशुको हेरचाह गर्नेलाई रेबिजविरुद्ध खोप लगाउन शुरु गरेको बताए। 

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कुकुरले टोकेका पशुहरू मरेको र रोगको शंका लागेर परीक्षण गर्दा रेबिज प्रमाणित भएको बताए। रेबिज फैलिन नदिन तत्काल नियन्त्रण शुरु गरिएको उनको भनाई छ। 

खोप लगाउन शुरु

जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेमा प्रमुख डा. सेढाईले खबर पाउनासाथ घटनास्थलमा पशु प्राविधिकको टोली खटाएर तथ्याङ्क संकलन गरी उनीहरूलाई रेबिजबाट बचाउन खोप लगाउन शुरु गरिएको बताए ।

उनका अनुसार अहिलेसम्म १९ जनालाई रेबिजविरुद्धको खोप लगाइसकेको छ। डा. सेढाईले मरेको पशुको मासु खाएकामध्ये ६० जना ‘ट्रेसिङ’मा परेको बताए।

उनले कार्यालयबाट उक्त रेबिज प्रभावित क्षेत्रमा १ सय ६० डोज खोप पठाइएको जानकारी दिए।

गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार पशुसँग घुलमिल भएका ४० भन्दा धेरै स्थानीयलाई भ्याक्सिन लगाउन सूची तयार गरी स्वास्थ्य कार्यालय पठाईएको थियो। रेबिजका कारण हरेक वर्ष नागरिकले ज्यान गुमाइरहेका छन्। 

समयमा सूचना नहुँदा क्षति

गाउँपालिका अध्यक्ष जिम्बाले समयमा सूचना नदिँदा किसानले क्षति बेहोर्नु परेको बताए। महाभारत–१ का वडा अध्यक्ष कान्छामान जिम्बाले पुश मरेपछि मात्रै भदौदेखि नै कुकुरले पशुहरू टोकेको सूचना आउन थालेको बताए।

गाउँपालिका नै रेबिज त्रासले प्रभावित बनेका छन्। समयमै सम्बन्धित निकायमा खबर नहुँदा पछिल्लो समय महाभारतमा भटाभट पशुहरू मर्न थालेका छन्। गाउँपालिकाले कतै शंकास्पद कुकुर देखिए वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल खबर गर्न तथा त्यस्ता कुकुरबाट सतर्क रहन आग्रह गरिएको छ।

जनचेतना जगाउँदै विद्यार्थी

गाउँपालिकामा रेबिज रोग संक्रमण देखिएसँगै स्थानीय त्रसित हुन थालेपछि विद्यार्थीले जनचेतनामूलक कार्यक्रम गरेका छन्। महाभारत–१ स्थित गोकुल माध्यमिक विद्यालयका विद्यार्थीले कुकुरबाट सर्तक रहन आग्रह गर्दै जनचेतनामूलक कार्यक्रम गरेका हुन्। 

विद्यार्थीहरूले वडा कार्यालय र विद्यालयको समन्वयमा उक्त कार्यक्रम गरेका थियो। रेबिजविरुद्ध चेतनामूलक कार्यक्रममा वडाध्यक्ष कान्छामान जिम्बा (रोहित), विद्यालयका प्रधानाध्यापक प्रदमप्रसाद तिमल्सिना लगायतका शिक्षक शिक्षिका, नर्स र स्थानीयको सहभागिता रहेको थियो। 

कार्यालय प्रमुख डा.सेढाईले रेबिज एकपछि अर्को पालिकामा फैलन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले रोकथामका लागि स्थानीय सरकारको पहलकदमीका बारेमा आवश्यक पहल शुरु गरिएको बताए।

गाउँपालिकाको पशु स्वास्थ्य शाखाले पनि रेबिज फैलन नदिन रोकथामबारे सचेतना कार्यक्रम शुरु गरेको छ। 

रेबिजबाट जिल्लाका ६ जनाको मृत्यु

स्वास्थ्य कार्यालयको तथ्यांकका अनुसार काभ्रेमा ०७७ चैतयता प्राणघातक रेबिजबाट ६ जनाले ज्यान गुमाईसकेका छन्।

चौरीदेउराली गाउँपालिकाका ७ वर्ष, ४६ वर्ष र ७२ वर्षका गरी रेबिज लागेका ३ जनाको मृत्यु भएको थियो।

गत भदौमा भुम्लु गाउँपालिकामा रेबिजका कारण एक महिनाको अवधिमा ४ दर्जनभन्दा बढी पशुचौपाया मरेका थिए। घटनाक्रमले काभ्रेमा रेबिजको संक्रमण अझै केही समय रहिरहने देखिएको छ।

कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि शंकास्पद १९ परिवारका ५१ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो।

दुवै पालिकामा गरी त्यति वेला २ सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो। स्वास्थ्य कार्यालयले रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि केही वर्षदेखि सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.