बोटबाटै २ करोडको सुन्तला बिक्री

|

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि सवारीसाधनबाट करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने दोसल्ले गाउँ।

शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जंगलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ- दोसल्ले गाउँ। यो गाउँमा ५२ घरधुरीको बसोबास छ।

सबै घरधुरीका साना ठूला सुन्तलाका बगैंचा छन्। तिनै बगैंचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैली पत्यारै नलाग्ने किसिमले फेरिएको छ।

हँसिलो अनुहार। गलामा साढे ३ तोलाको सुनको सिक्री। हातमा सुनकै बाला। गाउँ दुर्गम भए पनि शहरका संभ्रान्त परिवारको जस्तो सजिएको घर।

बिहान उठेदेखि राति अँध्यारो नहोउन्जेलसम्म सुन्तला बगैंचामा नै व्यस्त ३८ वर्षीया मायादेवी पुनको अब कुनै रहर बाँकी छैन। बिहान खाए बेलुकी के खाउँ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको जीवनशैली अहिले सबैलाई लोभ्याउने खालको छ।

‘हाम्रा लागि सुन्तलाको बगैंचा नै युरोप, अमेरिका हो। सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन्। छोराछोरीको जस्तै बिछट्टै माया लाग्छ हामीलाई यी सुन्तलाका बोटको‚’ दोसल्लेको सुन्तला बगैंचामा हँसिली मायादेवीले भनिन्‚ ‘गत वर्ष २ लाखको सुन्तला बोटबाटै बिक्री गरें। यस वर्ष नयाँ बोटमा पनि फल लागेको छ, उत्पादन पनि राम्रो भएकाले ठेकेदारले ४ लाखमा सुन्तलाको बोटै किनेका छन्।’

पुनले मात्रै होइन दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० जना कृषकले सुन्तलाबाट गत वर्षभन्दा दोब्बर आम्दानी लिन सफल भएका छन्।

सबै कृषकका बगैंचामा लटरम्मै सुन्तला फलेका छन्। सुन्तला खरिद गर्न बगैंचामा नै आएका ठेकेदारहरूसँग उनीहरू मोलमोलाई गर्न व्यस्त छन्।

भर्खरै सकिएको चुनावको मत गन्ती हुँदै गर्दा दोसल्लेका कृषकलाई भने सुन्तलाको हिसाब किताब गर्नै भ्याइनभ्याइ छ।

२०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेतीको लहर शुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन्।

‘पहिला अवस्था फरक थियो, बारीमा २ मुरी कोदो फल्थ्यो। वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाटै यहाँका बासिन्दाको जीवन चल्थ्यो‚’ उनले भनिन्‚ ‘तर अहिले अवस्था फेरिएको छ। विदेश गएकाहरू पनि गाउँमा फर्केर सुन्तला खेतीमा लागेका छन्। कोदोबारी अहिले सुन्तला बगैंचामा परिणत भएको छ।’

बोटबाटै बिक्री हुन्छ सुन्तला 

यहाँका किसानले बोटमा सुन्तला फलाए मात्र पुग्छ। बिक्रीको कुनै समस्या छैन। सुन्तला किन्न काठमाडौं, चितवन र पोखराबाट ठेकेदारहरू बगैंचामै आएर बोटै खरिद गर्छन्।

‘बिक्रीको कुनै फिक्री छैन। बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ‚’ दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्छन्‚ ‘अरु ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारीहरू पहिला यहीँकै सुन्तला नै खोज्न आउँछन्।’

पाइजाका अनुसार गत वर्ष ५ ठाउँबाट १७ जना ठेकेदार सुन्तला खरिदका लागि गाउँमा आएका थिए। यस वर्ष कात्तिक तेस्रो सातासम्म २० जना ठेकेदार आइसकेका छन्। गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाटै बिक्री भइसकेका छन्।

बोटबाटै २ करोडको सुन्तला बिक्री

दोसल्लेमा यस वर्ष बोटमै रहेका सुन्तला बेचेर किसानहरू २ करोड कमाउन सफल भएका छन्।

गत वर्ष ७५ लाखको सुन्तला बिक्री गरेका दोसल्लेका किसान यस वर्ष उत्पादन राम्रो भएकोले गत वर्षभन्दा दुई गुणा बढी आम्दानी भएपछि उत्साहित बनेका हुन्।

पाक्दै गरेको सुन्तला बोटबाटै करिब २ करोडमा पोखरा र काठमाडौंका ठेकेदारले खरिद गरेका दोसल्लेकी अगुवा कृषक डिलमाया पुनले बताइन्।

दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैंचाबाटै प्रतिकिलो ९५ रूपैयाँका दरले खरिद गरेका हुन्।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार ५०० किलो सुन्तला बिक्री हुँदा ७५ लाख रूपैयाँ गाउँ भित्रिएको र यस वर्ष सुन्तलाका करिब २ सय नयाँ बोटमा पनि फल लागेको बताए।

उनले उत्पादन पनि राम्रो भएकाले करिब २ करोडको हाराहारीमा सुन्तला बिक्री हुने जानकारी दिए।

तथ्याङ्कमा म्याग्दीका सुन्तला

म्याग्दीमा ६४० हेक्टर जमिन सुन्तला खेतीले ढाकेकोमा ३४५ हेक्टरमा रहेक‍ा बोटमा सुन्तला फलेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत आव ०७८/७९ मा विगत वर्षको तुलनामा सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए। उनले २ हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई १० करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको बताए।

अघिल्लो आव ०७७/७८ मा म्याग्दीको सुन्तलामा चाइनिज सिड्रस फुड फ्लाई नामक औंसाको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो।

तर गत आव भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसाको प्रकोप नियन्त्रण, किसानलाई तालिमका साथै प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेका कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिए।

आव ०७७/७८ मा म्याग्दीमा १ हजार ९६४ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको थियो भने गत आव ०७८/७९ मा त्योभन्दा ६६ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादनसमेत बढ्दै जान थालेको छ। गत वर्ष सुन्तला खेतीको प्रवर्द्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले ११ लाख रूपैयाँको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो।

म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मंगला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगंगाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन्।

छोटो समयमा थोरै लगानी र मेहनतबाट पनि राम्रो उत्पादन गर्न सकिने भएपछि ग्रामीण भेगका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।म्याग्दीमा झन्डै ५ सय किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.