|

सुर्खेत : भेरी करिडोरमा पर्ने ३ जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ।

जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले सो सडक निर्माण गर्न बोलपत्र आह्वान गरेको हो। आयोजनाकै अग्रसरतामा आइई (इनिसियल इन्भाइरनमेन्ट एक्जामिनेशन) सकिएपछि सडक निर्माणको पहल थालेको हो। यो सडक भालुलेक हुँदै जुम्ला जोड्न पनि उपयुक्त मानिएको छ। 

डोल्पाको त्रिवेणी-नर्कु-सर्मी हुँदै भालुलेकसम्मको १६ किलोमिटर सडक बनाउन कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रारम्भिक वातारणीय परीक्षण (आइई) कात्तिक २७ गते स्वीकृत गरेसँगै सडक निर्माण गर्न जगदुल्ला जलविद्युतले आज बोलपत्र आह्वान गरी निर्माणको प्रक्रिया थालेको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए।

१५ करोडमा उक्त ठेक्का आह्वान भएको छ। बाटो निर्माणका लागि १०६ मेगावाटको जगदुल्ला जलविद्युतले ३ जिल्लाको सिमाना त्रिवेणीदेखि विद्युत उत्पादन गृह रहेको इलसम्म काम शुरु गर्न प्रक्रिया अघि बढाएको छ।

भेरी करिडोरले जिल्लाको सिमाना छोएर जाने भए पनि मुड्केचुला गाउँपालिकाका विभिन्न ठाउँमा सडक बनाउन कठिन हुँदै आएको थियो। अब जलविद्युत आयोजनाले नै सक्रियता जनाएपछि यहाँका सर्वसाधारण खुशी भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 

जुम्लाबाट मुड्केचुलातिरका केही गाउँबस्तीमा सडकले गति लिएको भए पनि तल्लो भागमा रोकिएको सडक निर्माणले अब तीव्रता पाउने भएको छ।

त्रिवेणी-जुम्ला सडक निर्माणपछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभई जगदुल्ला हाइड्रो पावर निर्माणमा सहयोग पुग्ने जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेजर सापकोटाले जानकारी दिए। 

यही ठाउँमा जगदुल्ला जलविद्युत आयोजना (ए) ८२ मेगावाटको अध्ययनको काम जारी छ। 

यता भेरीमाथि निर्माण हुन लागेको तल्लुस्थित पुल निर्माण छिटो भए यहाँ निर्माणका लागि सामग्री लिनसमेत सहज हुने आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.