|

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना सकिएको जनाएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने आयोगले जनाएको छ।

२ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता नपाउने भएको छ। १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ।

एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । २७ लाख १५ हजार २२५ मत पाएर नेपाली कांग्रेस दोस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ।

राप्रपाले ५ लाख ८८ हजार ८४९, जसपाले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेको आयोगले जनाएको छ।

आयोगका अनुसार सात राजनीतिक दलले मात्रै राष्ट्रिय मान्यता पाएका छन्। थ्रेसहोल्ड कटाएको दलहरुले पाउने सिट संख्या यकिन गर्ने काम अहिले भइरहेको आयोगका सहायक प्रवक्ता ऋषि भुसालले बताए ।

‘कुन दलले कति सिट पाउँछ भन्ने आयोगले यकिन विवरण निकाल्छ, सम्बन्धित दललाई निर्वाचित संख्याको क्लष्टर मिलाएर ल्याउन आयोगले पत्राचार गर्छ,’उनले भने,‘आयोगले बढीमा दलहरुलाई तीन दिनको समय दिन्छ।’

आयोगले यसअघि सात दिनको समय दिँदै आएकोमा यो पटक कानुन संशोधन गरेर तीन दिन भित्र बुझाउनु पर्ने व्यवस्था गरेको छ। दलहरूले क्लष्टर नमिलाई नाम पठाए थप एक दिनको समय दिइने सहायक प्रवक्ता भुसालले बताए।

उनले मंसिर मसान्तसम्म राष्ट्रपति समक्ष चुनावको परिणाम बुझाउने तयारी आयोगले गरेको बताए। 

प्रतिनिधिसभामा समानुपातिकबाट १ सय १० जना सांसद निर्वाचित हुनेछन्। जसमध्ये उनीहरूले प्राप्त गरेको मतका आधारमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ७, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले ५/५ सिट प्राप्त गर्ने आयोग स्रोतले जनाएको छ। 

यो नतिजासँगै प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेस २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कूल ८९ सिटसहित पहिलो दल बनेको छ। प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७८ सिटसहित दोस्रो बनेको छ। 

तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ। पहिलो पटक संसद प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षको ७ सहित कूल २० सांसदसहित बलियो उपस्थिति जनाउनेछ।

यसअघि एक सिटमा सिमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकबाट ७ गरी १४ सिट पुर्‍याएको छ।

जनता समाजवादी पार्टीको प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सिमित हुँदा मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समनुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ। 

थ्रेसहोल्ड कटाउन नसकेका नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्दा ५ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.