|

दोधारा चाँदनी : कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुगे।

अस्पतालमा बिमा कार्ड देखाउँदै जोशीले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। एक हजार ८०० रुपैयाँको औषधि खरिद गरेर फर्किए। 

‘स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्’, उनले भने, ‘सहुलियत नपाउने बीमा गरेर के फाइदा।’ उनीसँगै अस्पतालमा भेटिएकी जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको बताइन्। उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गरिन्।

‘बीमा गरेको कार्ड देखाउँदा औषधि छैन भन्छन्। भएको औषधिको पनि शुल्क लिन्छन्’, भट्टले भनिन्, ‘स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाइएकै छैन।’  उपचारकै लागि अस्पताल पुगेका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताउँछन्। ‘स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन’, उनले भने।

स्वास्थ्य बीमा कार्यक्रम सरकारले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याएको  जनाइएको छ। सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

महाकाली प्रादेशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या भएको बताए। ‘बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन। हामीले पनि औषधि खरिद गर्नुपर्छ’, उनले भने, ‘अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसैले पनि औषधि नपाएको हुनसक्छ।’  केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको उनले बताए।

बीमा बोर्डले तोकेका ८० प्रकारका बाहेक अन्य औषधि पनि सेवाग्राहीले माग गर्ने र नपाएको गुनासो गर्ने गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.