|

सुर्खेत :मध्यपहाडी लोकमार्गको जाजरकोट भेरी नगरपालिका– १३ कुदुदेखि स्याउली बजारसम्म पिचको काम पूरा भए पनि भत्किने कामसमेत सुरु भएको छ। आधा दर्जन बढी ठाउँमा सडक भत्किएका कारण यो पिच भएको सडक जोखिमपूर्ण भएको छ।

निर्माण व्यवसायीले भत्किएको सडक मर्मततर्फ ध्यान नदिएको स्थानीय भविलाल शाहीले बताए। १७ किलोमिटर सडक पिच भएकोमा जगतीपुरदेखि स्याउली बजारसम्म अधिकांश ठाउँमा भत्किएको शाहीले बताए। सडक निर्माण गर्दा स्थानीयबासीको होटलमा खाएको र कामदारले श्रमको मूल्य नपाएको गुनासोसमेत गरेका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत ८३ किलोमिटर सडक जाजरकोटमा पर्छ। उता, निर्माण व्यवसायी सिंह एण्ड ब्रोदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा काम भइसकेको बताएका छन्।

 त्यस्तै, स्याउलीदेखि कार्कीगाउँ सम्मको १७ किलोमिटरमा पिचको काम जारी रहँदा काम गुणस्तर नभएको भन्दै पर्खाल भत्काउने कामसमेत भएको छ। सिमेन्ट र बालुवा राख्दा मापदण्डभन्दा बाहिर गएर निर्माण गरेको भेटिएपछि भत्काउने काम भएको हो।

प्राविधिकहरूको आँखा छलेर भारी मात्रामा सडकमा पिच गर्दा कटिङ गरिएको ठाउँमा लगाइने वालहरूमा मापदण्डभन्दा बाहिर गएर काम गर्ने गरेको पाइएको प्राविधिकको भनाइ छ। मुख्य ठेकेदारभन्दा पनि सहायक ठेकेदारले काम बढी बिगारेको प्राविधिकको भनाइ छ।

कार्की गाउँबाट थलहसम्मको २० किलोमिटरमा समेत काम जारी रहेको छ। थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको पिचको काम सकिएको छ। यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ।

भत्किएको सडकका विषयमा ठेकेदार कम्पनी बेखबर

कुदुदेखि स्याउली बजारसम्म पिच भइसकेको सडक भत्किए पनि ठेकेदार कम्पनी बेखबर रहेको छ। पिच गर्न बाँकी रहेको ठाउँमा मात्र काम भइरहेको छ भने पिच भत्किएको ठाउँमा काम सुरु नै गरिएको छैन।

भत्किएको विषयमा पटक-पटक कुरा उठाउँदा पनि सुनुवाइ नभएको बरु उल्टै प्रहरी लगाएर दमन गर्ने काम भएको स्थानीय कमल शाहीले बताए।

निर्माण कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले टेलिफोनमा आफूले काम गर्न लाग्दा नगरपालिकाले सधैँ असहयोग गरेको बताए।

भेरी पुल अलपत्र

सात वर्षदेखि काम नगरेपछि  भेरी पुलको ठेक्का तोडिएको मध्य पहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्ड हेर्ने कार्यालयमा सुब्बा तीर्थ जिसीले बताए।

मंसिर १२ गते पत्रिकामा सूचना प्रकाशित गरेरै ठेक्का तोडिएको जिसीले बताए। जाजरकोट भेरी नगरपालिका १३ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारीको बीचमा रहेको भेरी नदीमा पुल निर्माणको अब अर्को बोलपत्रको तयारी गरिएको छ।

उनले कुदुदेखि स्याउली बजारसम्म जहाँ भत्किएको भए पनि ठेकेदारले बनाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.