|

काठमाडौँ : गत साउनको पहिलो साता ललितपुरबाट फैलिएको डेंगुले यो वर्ष लगभग महामारीकै रूप लियो। साउनयता हालसम्म देशका ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट बिरामी भइसकेका छन्।

भदौ, असोज र कात्तिकसम्म नेपालमा डेंगुका बिरामीको संख्या अत्यधिक भए पनि यसअघिका वर्ष भने मंसिर (जाडो याम) शुरु भएसँगै घट्दै जाने गर्थ्यो।

यो वर्ष अहिले मंसिर अन्तिम सातामा आइपुग्दा समेत पहिलेजस्तो संक्रमण नघटेको बताउँछन्‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेल।

विगत वर्षहरूमा जाडो शुरु भएसँगै डेंगु लगभग शून्यमा झरिसक्ने भए पनि यो वर्ष अहिलेसम्म पनि नघटेको प्याकुरेलको भनाइ छ।

‘विगतमा भदौमा संक्रमण शुरु भएर मंसिर लागेसँगै धेरै कम हुन्थ्यो। योपटक त मंसिर सकिन लाग्दासमेत डेंगुका बिरामी भेटिइरहनु भएको छ। अझ यो वर्ष त हाम्रोमा कडा लक्षण भएका धेरै संक्रमित भेटिनु भएको थियो’‚ प्याकुरेलले भने।

प्याकुरेलले पछिल्ला दिन काठमाडौं र भक्तपुरमा डेंगुका बिरामी अन्य स्थानको तुलनामा धेरै देखिएको समेत बताए।

‘काठमाडौं, भक्तपुरमा अहिले पनि डेंगुका बिरामी भेटिइरहनु भएको छ तर यस मौसममा भेटिएका बिरामीमा भदौ‚ असोज र कात्तिक तेस्रो हप्तासम्म भेटिएका बिरामीमा जस्तो कडा लक्षण भने देखिएको छैन’‚ प्याकुरेलले भने।

उनका अनुसार साउनयता हालसम्म काठमाडौंमा १४ हजार १२७ जना,ललितपुरमा ९ हजार ६०३ जना र भक्तपुरमा ६ हजार १२४ जना संक्रमित भेटिएका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार गत वर्षहरूमा पनि डिसेम्बरसम्म नै डेंगु संक्रमित रहने भए पनि गत वर्षहरूका भन्दा योपटक यो सिजनमा गत वर्षहरूमा भन्दा अलि बढी संक्रमित उपचारमा आउने गरेका हुन्। ‘हुनत अघिल्ला वर्षहरूमा पनि यो मौसमसम्म डेगु संक्रमित फाटफुट उपचारमा नआएका होइनन् तर योपटक गत वर्षभन्दा अलि बढी आउनु भएको हो कि जस्तो देखिन्छ तर महत्त्वपूर्ण कुरा के छ भने साउन‚ भदौ, असोजको मौसममा देखिने संक्रमितभन्दा अहिले भेटिएका संक्रमितमा लक्षण सामान्य रहेको देखिन्छ। यसले गर्दा धेरै संक्रमितहरू अस्पतालभन्दा घरमै बसेको देखिन्छ’‚ डा. पुनले भने।

जलवायु परिवर्तनले गर्दा चिसो मौसममा पनि काठमाडौं उपत्यकाको तापक्रम पहिले पहिलेको चिसो मौसममा जस्तो धेरै चिसो नहुने, घरभित्र पनि धेरै तातो हुने यसअघि नै फुल बनाएर बसेका लामखुट्टेको विकास हुँदा चिसो मौसममा पनि संक्रमित भेटिने गरेको डा. पुनको भनाइ छ।

यो वर्ष मात्रै वाग्मती प्रदेशमा ४१ हजार ९४७ जना, लुम्बिनीमा ४९७५, प्रदेश १ मा २१९८, सुदूरपश्चिममा १२८, मधेश प्रदेशमा ९८४ जना र कर्णालीमा ६७७ जना संक्रमित हालसम्म भेटिएका छन् भने ६२ जना डेंगु संक्रमितको मृत्यु भएको छ।

महाशाखाको विवरण हेर्दा सन् २००६ ३२ जना, २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना, २०१० मा ९१७ जना, २०११ मा ९७ जना, १०१२ मा १८३ जना, २०१३ मा ६८६ जना, २०१४ मा ३५६ जना, २०१५ मा १३५ जना, २०१६ मा १ हजार ५२७ जना, २०१७ मा २ हजार १११ जना, २०१८ मा ८११ जना, २०१९ मा १९ हजारलाई डेंगु देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो।

त्यतिखेर धरानबाट फैलिएको डेंगु देशभर फैलिएको थियो। त्यतिखेर धरानलाई महामारी क्षेत्र घोषणा गरिएको थियो। कोरोना महामारी भएका दुई वर्ष सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुबाट बिरामी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.