काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत फर्किने तयारी गरेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा अन्ततः बुधबार अदालत गएनन्।
उनी दिउँसो ३ बजे अदालत जाने भनिए पनि अन्तिममा निस्कन सकेनन्। उनी आउने सूचना पाएसँगै धर्ना दिन अदालत परिसरमा भेला भएका कानुन व्यवसायी पनि अहिले फर्किएका छन्।
अपरान्ह ४ बजेपछि कार्यालय समय सकिएकाले कर्मचारीहरू पनि निस्किएका छन्।
शुक्रबार विहान १० बजेसम्मका लागि धर्ना स्थगित गरिएको नेपाल बार एसोसियशनले जनाएको छ। भोलि बिहीबार सार्वजनिक विदा भएकाले अब शुक्रबार मात्रै धर्ना गरिने बारका एक पदाधिकारीले बताए।
स्रोतका अनुसार गृह मन्त्रालयले पनि जबरालाई अदालत प्रवेशमा रोक लगाउन प्रहरीलाई सर्कुलर गरेपछि उनी बुधबार हाजिर हुन पाएनन्। उनी आफूले क्लिनचिट पाएको भन्दै अदालतमा हाजिर हुन जाने खबरले अदालत परिसर आज दिनभर तनावपूर्ण बन्यो ।
संसदको क्षेत्राधिकार नाघेर पत्राचार गरेको भन्दै संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई पनि कारबाहीको माग गरिएको छ।
निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल यही २७ गते सकिँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।