|

हेटौंडा : लामो समयदेखि आर्थिक संकट झेलिरहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले मूल्य घटाउँदा पनि सिमेन्ट बिक्री हुन सकेको छैन। 

चार वर्षदेखि निरन्तर घाटामा चलिरहेको उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न भन्दै ४० रुपैयाँ घटाउँदा पनि बिक्री नभएको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार गत आइतबारदेखि उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले घटाएको थियो। 

मूल्य घटाए पनि सिमेन्टको बिक्री अपेक्षाकृत रूपमा नभएको उनले बताए। करिब ९ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने उद्योगले ७४७ रूपैयाँ प्रति बोरा सिमेन्ट बिक्री गर्दै आएको थियो। तर सिमेन्ट बिक्री नभएपछि उद्योगले प्रतिबोरा ४० रुपैयाँ घटाएको थियो। 

उद्योगले बोरामा २०० रुपैयाँको हाराहारीमा घाटा व्यहोरिरहेको पाण्डेले बताए। मूल्य घटाएर दैनिक रूपमा १० हजार बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको उद्योगले पहिलो दिन आइतबार सात हजार बोरा बिक्री गर्‍यो। त्यसयता दैनिक ४ हजार बोराको हाराहारीमा मात्रै बिक्री भइरहेको छ। उद्योगमा करिब दुईलाख बोरा सिमेन्ट मौज्दात रहेको पाण्डेले बताए। 

उनका अनुसार घाटाका कारण आर्थिक संकट झेलिरेहको उद्योगको मेसिन बिग्रिँदा ‘क्लिन्कर’ उत्पादन रोकिएको छ। आर्थिक अभावका कारण पटक–पटक चल्ने बन्द अवस्थाबाट गुज्ररहेको उद्योगको मेसिन बिग्रिएसँगै क्लिन्कर उत्पादन रोकिएको हो। सिमेन्ट उद्योगको क्लिन्कर उत्पादन गर्ने ठूलो मेसिन बिग्रिँदा दुई हप्तादेखि उत्पादन हुन नसकेको हो। 

‘उद्योगको सबैभन्दा ठूलो मोटर बिग्रिँदा दुई हप्तादेखि क्लिन्कर उत्पादन हुन सकेको छैन’, महाप्रबन्धक पाण्डेले भने, ‘स्टकमा राखिएको क्लिन्करबाट सिमेन्ट उत्पादन भइरहेको भए पनि त्यो पनि सकिन लागेको छ।’ पाण्डेले स्टकमा राखिएको क्लिन्कर सकिन लागेको भन्दै मेसिन छिटो भन्दा छिटो मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी रहेको बताए। उनले मोटर मर्मत भइरहेको भन्दै केही दिनमा नै उद्योगलाई पुनः सञ्चालनमा ल्याउने बताए। 

यसअघि करिब तीन हप्ताअघि मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो। उद्योग करिब एक दशकपछि दैनिक ७५० मेट्रिक टनको पूर्ण उत्पादन क्षमतामा सञ्चालनमा आएको थियो। तर, पूर्ण क्षमतामा सञ्चालनमा आएको एक महिना पनि हुन नपाउँदै मेसिन बिग्रिँदा फेरि उत्पादन रोकिएको छ। आर्थिक अभाव झेलिरहेको उद्योगको उत्पादन यसअघि ३ महिनासम्म ठप्प थियो। 

पाण्डेले उद्योगको महाप्रबन्धकमा आफू आएपछि उद्योगको ‘इन्टरनल टेक्निकल अडिट’ गर्दा उद्योगको समस्या पत्ता लागेको बताएका थिए। अडिटपछि आएको रिपोर्ट कार्यान्वयन गर्दै जाँदा उद्योगलाई दशकपछि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकेको उनको भनाइ थियो। यसअघि पाण्डेले आन्तरिक स्रोतबाट ३० प्रतिशत रकम तिरेर बाँकी उधारोमा मेसिन मर्मत गरेर तत्कालका लागि उद्योग सञ्चालनमा ल्याएको उनले बताएका थिए। 

हाल उद्योग बिग्रिएका मेसिन मर्मत गर्नसक्ने सम्भावना पनि कम रहेको उनको भनाइ छ। उद्योग सञ्चालनको लागि कोइला अभाव हुँदा सिमेन्ट उत्पादन रोकिँदै आएको थियो। कोइला खरिद गर्ने पैसा नहुँदा तीन महिनासम्म उद्योग बन्द गर्नुपरेको थियो। कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइला व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याएको उद्योग प्रशासनले जनाएको थियो। 

भारत, भूटान र इण्डोनोसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन शुरु भएको थियो। चार वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनमा कोइला अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो। तर विभिन्न निकायबाट कोइला सहयोग पाएपछि कात्तिक १५ गते मंगलबार उद्योगले पुनः उत्पादन थालेको थियो। ४० वर्ष पुराना मेसिनका कारण उत्पादन लागत महँगो पर्दा उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन। 

कच्चा पदार्थको अभाव र ढुंगा‚ धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन रोकिने गरेको छ। उद्योग चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको महाप्रबन्धक पाण्डे बताउँछन्। उनका अनुसार सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ। मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्थामा रहेकोले तत्काल उद्योग पूर्णरूपमा सञ्चालनमा आएपनि उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या नहट्ने पाण्डेको भनाइ छ।

उद्योगमा पुरानो भएर बिग्रिएका मेसिन मर्मत गर्न र नयाँ प्रविधि भित्र्याउन आवश्यक रकम उद्योगसँग छैन। कुनै समय नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग ४ वर्षयता अस्तित्व जोगाउनकै लागि सञ्चालनकै लागि संघर्षरत छ। उद्योगले ४ वर्षमा करिब ८० करोड रूपैयाँ घाटा बेहोरेको छ। उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ। गत आव ०७८/७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड रूपैयाँ बराबर घाटा बेहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। 

गत आवमा एक अर्ब २२ करोड आम्दानी गरेको उद्योगले १ अर्ब ३९ करोड खर्च गरेको छ। उद्योगले आव ०७४/७५ मा १६ करोड ३६ लाख रूपैयाँ नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ। आव ०७५/७६ मा उद्योगले एक करोड ५ लाख, आव ०७६\७७ मा २३ करोड ८२ लाख, आव ०७७/७८ मा थप १७ करोड ४ लाख नोक्सान बेहोरेको उद्योगले जनाएको छ। निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको उनले बताए।

निजी उद्योगको नयाँ प्रविधिको कारण कम लागतमा सिमेन्ट उत्पादन हुने हुँदा बिक्री पनि कम हुने गरेको छ। तर,४० वर्ष पुरानो मेसिनबाट सञ्चालन भइरहेको हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन पनि सकेको छैन। कहिले चल्ने कहिले बन्द हुने गर्दा पनि उद्योगको सिमेन्ट उत्पादन लागत महँगो हुने गरेको छ। मूल्य घटाएरै बेच्दा पनि निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.