|

काठमाडौँ : नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल हुने भएको छ। सरकारले पोलियो भाइरस खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णयसँगै उक्त ट्रायल हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा पोलियोविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल हुनेछ। पोलियो रोगविरुद्ध सुईबाट दिइने खोप सविन स्ट्रेनको इनएक्टीभेटेड पोलियो भाइरस भ्याक्सिन (आईपीभी)लाई क्लिनिकल ट्रायल गर्ने अनुमति दिइएको हो।

अहिलेसम्म पोलियो नियन्त्रणका लागि नेपालमा सुईबाट साल्क स्ट्रेनको खोप दिँदै आइएको छ।

परिषद्की इथिकल कमिटी प्रमुख नमिता घिमिरेका अनुसार पोलियोविरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न आवश्यक भएकाले अनुमति मागिएको र अब ट्रायल शुरु गरिने बताइन्।

भक्तपुरको सिद्धि अस्पतालमा २५० जना बालबालिकामा क्लिनिक ट्रायलको संयोजक बनेका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. लक्ष्मण श्रेष्ठले जापान र चीनमा नियमित खोपमा परिसकेको सविन स्ट्रेनको आइपीभी खोप क्लिनिकल ट्रायल गर्ने योजना भएको परिषद्‌मा सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए। ‘धेरै समयको प्रयासपछि हामीले अर्को खोपको क्लिनिकल ट्रायलको अनुमति पाएका छौँ, अब छिट्टै काम शुरु गर्छौँ’‚ डा. ज्ञवालीले भने।

हाल नेपाल पोलियोमुक्त राष्ट्र भए पनि संसारबाटै उन्मूलन नहुँदासम्म पोलियोको जोखिम भइरहने हुँदा पोलियोको अर्को खोपको क्लिनिकल ट्रायल गर्न लागिएको उनको भनाइ छ। मुखबाट खुवाउने पोलियो खोपले मात्रै पोलियोको जोखिम कम नहुने हुँदा अब सुईबाट दिने खोपको नेपालमा क्लिनिकल ट्रायल हुन लागेको उनको भनाइ छ।

त्यसो त नेपाल सरकारले सन् २०१६ देखि नै पोलियोविरुद्धको खोप मुखबाट र सुईबाट दिँदै आएको छ। यसअघि नै विश्व स्वास्थ्य संगठनले पनि संसारबाट पोलियो उन्मूलन गर्नका लागि मुखबाट दिएर हुँदैन‚ सुईबाट खोप दिनु पर्छ भन्दै आएको छ।

हुनत विश्व स्वास्थ्य संगठनले सन् २०१४ मै नेपाललाई पोलियोमुक्त राष्ट्र घोषणा गरिसकेको छ तर विज्ञहरूले जोखिम अझै पनि कायम रहेको बताउँदै आएका छन्। अफगानिस्तान, पाकिस्तान तथा नाइजेरिया लगायतका देशमा पोलियो भाइरसका संक्रमितहरू फाटफुट रूपमा देखा पर्दा जुनसुकै वेला अन्य देशमा पनि यो भाइरस पुनः दोहोरिने बताइरहेका छन्।  

यसअघि पनि नेपालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टाइफाइडविरुद्धको खोपको क्लिनिकल ट्रायल भएको थियो। गत चैत २५, २०७८ देखि वैशाख १८, २०७९ सम्म उक्त खोप अभियान शुरु गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.