|

जनकपुरधाम : धनुषामा एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ।

धनुषाको क्षीरेश्वरनाथ नपा-५ महेन्द्रनगरस्थित जनकपुर ढल्केबर सडकखण्डमै पर्ने महेन्द्रनगरको अमरचौकस्थित हीरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ।

आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

राति करिब साढे १२ बजेको समयमा भएको आगलागी बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। मिथिला नगरपालिका ढल्केबरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

मिथिला नपा-२ नक्टाझिज बस्ने हीरा महतोले वर्षौंदेखि सञ्चालन गर्दै आएको उक्त पसलमा आगलागीबाट करिब ३० लाखभन्दा बढीको इलेक्ट्रोनिक सरसामान जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए।

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए। स्थानीयका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट पसलमा रहेको फ्रिज, एलएडी टीभी, राइसकुकर, ग्याँस चुलो, इन्भर्टर लगायतको सरसामान जलेको छ। आगलागी भएको ठाउँमा पुगेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेशप्रसाद यादवले विद्युत् वा इन्भर्टर सर्ट भएर आगलागी भएको हुनसक्ने बताए।

महेन्द्रनगरमा व्यापारीको पसल जलिरहँदा नजिकै रहेको क्षीरेश्वरनाथ नगरपालिकाको वारुणयन्त्र आउन नसक्दा ढल्केबरबाट मगाउनु परेको थियो। नगरपालिकाको गैरजिम्मेवारपनको कारण महेन्द्रनगरको वारुणयन्त्र नजिकै पसल जल्दा पनि काम नलागेको संघका अध्यक्ष यादवले गुनासो पोखे।

महेन्द्रनगरमा पटक पटक पसलमा विद्युत् सर्ट भएर आगो लाग्ने गरेको यसप्रति व्यापारीलाई सतर्क हुन अध्यक्ष यादवले आग्रह समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.