|

काठमाडौँ : काठमाडौं महानगरले आजभन्दा ५ महिनाअघि अर्थात् असार दोस्रो साता महानगर क्षेत्रभित्र कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर संकलन गर्ने निर्णय गर्‍यो।

फोहोर व्यवस्थापनमा समस्या भएका वेला महानगरले फोहोरलाई स्रोतबाटै वर्गीकरण उक्त निर्णयले राम्रै चर्चा पायो।

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले उपत्यकाको फोहोरको समस्या समाधान नभएसम्म सार्वजनिक कार्यक्रममा खादा माला नलगाउने घोषणा गरे। उनको घोषणासँगै वर्षौंदेखि फोहोरको समस्या झेल्दै आएका उपत्यकावासीमा समस्या समाधान हुने ठूलो आशा थियो। 

वर्षाका कारण ल्याण्डफिल साइटमा फोहोर पुर्‍याउन समस्या भएका वेला कुहिने फोहोर छुट्याउँदा समस्या समाधान हुनेमा धेरैले आशा गरेका थिए तर महानगरपालिका यतिवेला आफैँले गरेको निर्णयबाट पछि हटेको छ। अझ भनौँ आफैँले गरेको प्रतिबद्धता पूरा गर्न सकेको छैन।

साउन पहिलो सातादेखि कुहिने र नकुहिने फोहोर छुट्याएर उठाउने निर्णय गरेको महानगरले हालसम्म आफ्नै निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन। कुहिने र नकुहिने फोहोर स्रोतमा नै वर्गीकरण गर्ने योजना ल्यायो। यदि फोहोर वर्गीकरण नगरेको पाइएकामा ५ सय जरिवाना तिराउनेसम्मको चेतावनी दियो। 

यति वेला आफैँले हतरमा गरेको निर्णय कार्यान्वयनमा गर्न सकेको छैन। महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले फोहोर छुट्याउने विषयमा महानगर अझै लचिलो नभएको बताउँछिन्। ५ महिनाअघि गरेको घोषणा कार्यान्वयनका लागि अर्थात् कुहिने फोहोर फ्याँक्न जग्गाको खोजी भइराखेको विभागीय प्रमुख राई बताउँछिन्। 

महानगरले जारी गरेको सूचनाअनुसार १ साउनदेखि महानगरवासीले स्रोतमै फोहोर छुट्याउनुपर्ने थियाे। वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार स्रोतमै फोहोरको वर्गीकरण गर्न आग्रह गरेको थियाे।

​घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र फोहोर मैला व्यवस्थापन ऐन, २०६८ अनुसार कसुर मानी प्रत्येक पटक ५ सय जरिवाना गर्ने सूचना जारी गरेको थियो। 

उक्त व्यवस्थाअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर वर्गीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र नकुहिने फोहोर संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने जनाएको थियो।

महानगरले आफ्नै निर्णय कार्यान्वयन ल्याउन सकेन। आफैँले उपत्यकाको फोहरलाई मोहरमा परिणत गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बायोमिथानेशन अर्थात् बिजुली निकाल्ने मेसिन अलपत्र छ। त्यसतर्फ महानगरले चासो देखाएको छैन। 

फोहोरको समस्या ज्यूका त्यू, प्रयोगविहीन मेसिन 

यतिवेला काठमाडौँ महानगरमा कुहिने फोहोरको समस्या व्याप्त भएको छ। सोही फोहोरबाट बिजुली निकाल्नका लागि आजभन्दा ६ वर्षअघि ल्याएको मेसिन आफैँ अलपत्र छ। बिजुली निकाल्ने मेसिन अर्थात् (बायोमिथानेशन) फोहोरबाट बिजुली निकाल्ने भन्दै उक्त मेसिन २०७३ सालमा सञ्चालनमा ल्याएको थियो।  

दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेशन गर्न सक्ने भनिएको मेसिनले दैनिक १४ किलोवाट बिजुली, ३ सय केजी कम्पोष्ट मल, ९६ केजी ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी महानगरले गरेको थियो। उत्पादन हुने १४ किलोवाट बिजुली महानगरको कार्यालय प्रयोजन र स्थानीय बासिन्दालाई दिने र टेकुका सडकमा बाल्ने योजनासमेत महानगरले दाबी गरेको थियो।

काठमाडौंमा दैनिक निस्कने फोहोरबाट बिजुली निकालेर बाँड्ने योजना सुनाएको ६ वर्ष  बित्यो। न त उपत्यकाको फोहोरको समस्या समाधान भयो न त फोहोरबाट बिजुली नै बल्यो।

काठमाडौँ महानगरपालिकाको २० प्रतिशत लगानी र युरोपेली युनियनको ८० प्रतिशत साझेदारीमा १ करोड ८६ लाखमा उक्त मेसिन खरिदमा खर्च गरेको थियो। काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न ‘एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवर्द्धन’ परियोजना अन्तर्गत महानगर अघि बढेको थियो।

उक्त मेसिनले केही समय काम गरेको थियो तर पछि त्यसले काम गर्न छोडेको  महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले बताइन्। त्यसले काम  नगरेको भन्दै कुहिने फोहोर व्यवस्थापन गर्नका लागि महानगर जग्गाको खोजीमा रहेको छ।

किन असन्तुष्टि भए स्थानीय ?

यता बन्चरेडाँडाका स्थानीय भने असन्तुष्ट छन्। फोहोर छुट्याएर मात्र ल्याण्डफिल साइटमा पुर्‍याउने सम्झौता थियो। सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले विरोध जनाइरहेका छन्। विभिन्न माग राख्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवराेध गरे।

उक्त समस्या समाधान गर्न शहरी विकास मन्त्रालय, महानगर र बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाबीच त्रिपक्षीय सम्झौता भएको थियो।

महानगर पनि बन्चरेडाँडामा फोहोर फाल्न सहज हुनेबित्तिकै पोस्ट क्लोजिङ शुरु हुने, साउनबाट स्रोतमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने लगायत प्रतिबद्धता जनाएको थियो। बन्चरेडाँडाका स्थानीयले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र सामाजिक जीवन सुधारको माग राखेका थिए तर आफूले जनाएको प्रतिबद्धता अनुसार काम नगरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन्।

जग्गा खोजेर फोहोर छुट्याउँछौँ : महानगर

काठमाडौँ महानगरले फोहोरलाई स्रोतबाट छुट्याउन र व्यवस्थापन गर्नका लागि जग्गा खोजी गरिरहेको छ। कुहिने फोहोर व्यवस्थापन गर्न जग्गा खोजी गर्ने काम भइरहेको छ। प्रमुख राईले भनिन्, ‘जग्गा खोजिरहेका छौँ । जग्गा पाउनासाथ कुहिने र नकुहिने फोहोर छुट्याउन थाल्छौँ।’ फोहोरलाई वर्गीकरण गरी निश्चित स्थानमा पुर्‍याउन नसके पनि जथाभावी फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याएको महानगरले जनाएको छ।

चालू आर्थिक वर्षमा महानगरले जथाभावी फोहोर फाल्नेहरूसँग ५ लाख जरिवाना असुलेको छ। फोहोर व्यवस्थापन संघअनुसार निजी क्षेत्रले उठाएको केही स्थानमा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने गरेको छ। घरबाट छुट्याएर उठाएको फोहोर पनि टेकुमा खन्याउने र एकैपटक ल्यान्डफिल साइट पुर्‍याउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.