|

सल्यान : जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीमा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरू टहरामा बसेर पढ्न बाध्य भएका छन्। जीर्ण अवस्थामा रहेका विद्यालय भवन भत्काइएपछि उनीहरू करिब २ महिनायता टहरामा बसेर पढ्दै आएका हुन्।

पुराना र जीर्ण भवन भत्काएपछि कक्षा कोठा अभावमा कक्षा ३, ५ र ७ का विद्यार्थीले टहरामा पढ्दै आएका छन्।

‘अहिले निकै चिसो छ, बस्न पनि असहज छ‚’ कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीले भने‚ ‘साँघुरो कोठा भएकाले टहराभित्र भन्दा खुला चौरमा बसेर पढ्न सहज हुन्छ।’

कक्षा ५ मा अध्ययनरत अर्का विद्यार्थीले चारैतिरबाट जस्तापाता लगाएर बनाएको टहरामा बसेर पढ्दा अर्को कोठामा बोलेका सबै कुरा सुनिने भएकाले पढ्न समस्या भएको बताए।

‘यता सरले पढाउन लाग्नुभएको हुन्छ, अर्को कोठामा बोलेको सबै कुरा यता सुनिन्छ‚’ उनले भने‚ ‘यसले गर्दा पढ्न, लेख्न समस्या भएको छ।’

विद्यालय प्रशासनले भने जीर्ण अवस्थामा रहेका भवन भत्काइँदा कक्षा कोठा अभाव भएको र वैकल्पिक बसाइको लागि टहरा बनाइएको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक भीम खड्काले पुराना, जीर्ण र जोखिमयुक्त भवन भएकाले भत्काइएको बताए।

‘भवन भत्काएर नयाँ बनाउनुको विकल्प भएन‚’ उनले भने‚ ‘भवन भत्काएपछि मात्रै फिल्ड निर्माण भएको हो, अब यही फिल्डमा नयाँ भवन निर्माण हुन्छ।’

उनले दुईकोठे भवन निर्माणका लागि बजेट पनि विद्यालयमा प्राप्त भइसकेको बताए।

दुईकोठे नयाँ भवन निर्माणको लागि कर्णाली प्रदेश सरकारले यसै वर्ष २५ लाख रूपैयाँ छुट्याएको छ। विद्यालयमा टहरा निर्माणका लागि नगरपालिकाले सहयोग गरेको छ।

विसं २०२१ सालमा स्थापना भएको यस विद्यालयमा अहिले २ सय ५८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.