‘पश्चिम सेती र पञ्चेश्वर भारतले बनाउँछ’

|

धनगढी : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। बिहीवार सुदूरपश्चिम प्रदेश अस्थायी मुकामसमेत रहेको धनगढी पुगेर उनले यस्तो बताएका हुन्। 

बिहीवारदेखि कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले अब सुदूरपश्चिम समृद्ध हुने दाबी गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुदूरका चर्चित आयोजना पञ्चेश्वर आयोजना र पश्चिम सेती निर्माणको लागि चासो देखाएको पनि देउवाले बताए।

उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले म दिल्ली जाँदा होस् वा उहाँ लुम्बिनी आउँदा होस्, पश्चिम सेती आयोजनाबारे चासो राख्नुभएको छ। पश्चिम सेती भारतीय कम्पनीले निर्माणको लाइसेन्स पाइसकेको छ। त्यो भरपर्दो कम्पनी हो, ठग्ने कम्पनी होइन’, उनले थपे, ‘त्यो अवश्य पूरा हुनेछ। पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्नेछ।’

पश्चिम सेतीको निर्माणका लागि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको उनको जिकिर छ। आफूले पञ्चेश्वर र पश्चिम सेती जलविद्युत् आयोजनालाई पूर्णता दिने र यसले सुदूरपश्चिमको समृद्धिमा योगदान पुर्‍याउने उनको दाबी छ।

उनले यो क्षेत्रको विकासका लागि रानी जमरा सिँचाइ आयोजना, चमेलिया जलविद्युत् आयोजना, दोधरा–चादनी सुक्खा बन्दरगाह निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए। उनले भने, ‘यो क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि म प्रतिबद्ध छु।’

अर्को सन्दर्भमा बोल्दै उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताए। सुदूरपश्चिम प्रदेशलाई शिक्षा, स्वास्थ, पर्यटन र आर्थिक विकासका क्षेत्रमा जोड्न सकिने उनको कथन छ।

‘हाम्रो प्रदेश दुवै छिमेकी मुलुक (भारत र चीन)सँग सम्बन्ध जोडिएको भएकाले आर्थिक हबको रूपमा पनि विकास गर्ने सम्भावना छ’, उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरी काम गर्नुपर्छ। यहाँका स्थानीय सम्भावना र प्राकृतिक सम्भावनाको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्छ।’

गौरीफन्टा नाका स्तरोन्नति

प्रधानमन्त्री देउवाले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पनि पुनः भारतका प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका छन्। कैलालीसँग जोडिएको गौरीफन्टा नाकालाई भारतसँग कुरा गरेर थप सहज बनाउने उनले बताए।

देउवाले यसअघि आफ्नो भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित यस नाकाको स्तरोन्नतिबारे कुरा राखेको पनि दाबी गरे। उनले भारतीयले दुधवा राष्ट्रिय निकुञ्जलाई महत्त्वपूर्ण मान्ने भएकाले नाकाको स्तरोन्नति हुन ढिलाइ भएको र यसबारे उपाय निकाल्न सकिने जिकिर गरे।

यो नाका हुँदै पलिया पुग्ने बाटाहरू वैकल्पिक भएकाले पुनः भारतसँग छलफल गर्ने उनको भनाइ छ। यस्तै नेपाललाई कोभिडले धेरै ठूलो समस्या पारेको स्मरण गर्दै देउवाले आफूले खोप ल्याउँछु भनेर बोलेको कुरा पूरा गरेको बताए। त्यस्तै डोटीलगायतका जिल्लामा भुइँचालोले जनधनको क्षति भएको विषयमा देउवाले पीडितका दुःख पीडामा सहभागी भएर सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। देउवा महोत्सवको उद्घाटन गरेर काठमाडौँ फकिएका छन्।

यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी आएका देउवालाई १५ किलोको माला लगाइएको थियो। १५ बुँदे मागसहित देउवालाई महोत्सवमै १५ किलोको माला लगाइएको हो। १५ बुँदे मागमा गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायत रहेका छन्।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन। हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करण हो।

महोत्सवमा ४ सयभन्दा बढी स्टल छन्। कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक अन्य स्टल रहेका छन्। महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुुग्ने प्रधानमन्त्री देउवाले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.