|

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पहिलो याममा १२ वन्यजन्तुको शिकार भएको छ। शिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको शिकार भएको हो। 

नेपालका चार शिकार कम्पनीमार्फत आएका विदेशी शिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम शिकार गरेका छन्। पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो। 

यस पटक एक वटा नाउरको शिकार हुन सकेन। एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल सफारिसज प्रालीबाट शिकार गर्न जानुभएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से शिकार ब्लकमा नाउरको शिकार गर्न चुके। यो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत् अमेरिकी नागरिक वारर्डी ग्यारेट भानहोस्ले घुस्तुङ ब्लकमा एक नाउरको शिकार गरेका हुन्।

हिमालयन सफारीमार्फत शिकारमा गएका मेक्सिकोका शिकारी ओस्कार अलेक्जेन्डरले सुनदह र सेङ ब्लकमा एक झारल र एक नाउर, मेक्सिकोका शिकारी माउरीको जेभरले दोगाडी ब्लकमा एक झारल र एक नाउर र अमेरिकी शिकारी टलाएर लि इस्टनले दोवाडी ब्लकमा एक नाउर र झारलको शिकार गरेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए। 

ग्लोबल सफारीमार्फत शिकारमा जानुभएका क्यानेडियाली शिकारी एडमन मिचेल रुक्सले फागुने ब्लकमा एक नाउर, जर्मनीका शिकारी इरिक डिटररिजरिष्टले फागुने ब्लकमा एक झारलको शिकार गरेका हुन्। ट्याक एण्ड ट्राभल्समार्फत शिकारमा निस्कनुभएका अमेरिकी शिकारी जोफ्रे माथेवप्राजिले दोगाडी र घुस्तुङमा गरी एक झारल र एक नाउर तथा अर्का अमेरिकी शिकारी मिचल कुर्तच्याम्पमेनले घुस्तुङ ब्लकमा एक झारल र एक नाउरको शिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ। 

ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्। शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन्। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ। 
हरेक वर्ष असोज–मरसङ र फागुन–वैशाख गरी दुई सिजनमा शिकार हुन्छ।

विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक शिकारीलाई नेपाल भित्र्याउँछन्। यो याममा शिकारीले एउटा नाउरको २० लाख र झारलको छ लाख रुपियाँ राजश्व तिरेका थिए । शिकार पर्यटनबाट प्रतिवर्ष करोडौँ रुपैयाँ राजश्व ढुकुटीमा जम्मा हुन्छ। शिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा शिकारको राजश्व दर घटबढ हुने हो। 

शिकार पर्यटनमा विश्वका प्रसिद्ध शिकारी लाखौँ खर्च गरेर ढोरपाटन पुग्छन्। उनीहरू हेलिकप्टरमार्फत त्यहाँ पुग्ने गरेका छन्। आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रदर्शक, भरिया र सहयोगीसहित शिकार ब्लकमा पुग्छन्। आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुई/तीन दिनसम्म लाग्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.