|

पर्वत : गोठमा वा मलखाद नजिकै बिहानमा पूजा हुन्थ्यो। गाउँलेका गोठमा लैना, बकेर्ना भैँसी वा गाई हुन्थे। तिनै चौपायाको दूधबाट खीर र चामलको रोटी पकाएपछि सबै देवताले गोठमा रक्षा गर्ने, चौपायामा रोग नलाग्ने, चौपायाले अकालमा ज्यान गुमाउन नपर्ने विश्वास थियो।

पूजा सकेपछि दुनामा खीर र रोटी राखिन्थ्यो अनि शुरु हुन्थ्यो पूजाको रमाइलो।

देवी देवतालाई पुकारा गरेर घर गोठको रक्षा गर्न अनुरोध गर्नु घरका पाका मान्छेको जिम्मेवारी हुन्थ्यो त बालबालिकाहरूलाई कुकुर बन्नुको रमाइलो। घरका ज्येष्ठ सदस्यले पूजाआजा सकेपछि दुनामा प्रसादको रूपमा खीर र रोटी राखेर कुकुर बन्न इच्छुक कोहीलाई बोलाएपछि बालबालिकाहरू कुकुर हुने इच्छा व्यक्त गर्थे।

कुकुर बनेको व्यक्तिले दुनामा राखेको प्रसाद सकेसम्म कुकुरले जस्तै मुखले टिपेर भाग्नुपर्ने, मुखले नसके हातै भए पनि कुकुर जस्तै दौडिनुपर्ने। जब प्रसाद समातिन्छ तब पूजा गरेको व्यक्तिले गोबरका डल्लाले पछाडिबाट एकोहोरो प्रहार गर्ने चलन थियो।

कुकुर बनेर दौडिएकाहरूको पछाडिको भागमा गोबरका डल्लाले हानेका छापहरू हुन्थे।

‘बुबा दाजीहरूले गोठको मलखादमा पूजा सक्नुहुन्थ्यो। हामी कुकुर बन्नलाई लुकेर बसेका हुन्थ्यौँ। दुनामा खीर र रोटी राखेर चे चे ला भन्दै उहाँहरूले बोलाएपछि कुकुरले जस्तै दुना टिपेर टाप कस्नुपर्ने हुन्थ्यो। प्रहार गरेका गोबरका डल्ला छल्न हामी खूब चलाखीपूर्ण तरिकाले दौडिने’, जिल्लाको महाशिला गापाका जीवनविक्रम उचै भन्छन्, ‘कहिलेकाहीँ त गोबरका डल्लाले ड्याम्मै लाग्थ्यो। स्कुल जाने पोसाकमा लागेको गोबर हतार हतार धोएर विद्यालय गइन्थ्यो। विद्यालयमा आफू कुकुर बनेर आएको भन्दै साथीहरूमाझ कुरा गर्नुको मजा पनि उस्तै।’

आफू बच्चा हुँदा हरेक वर्ष कुकुर हुन नछाडेको र पूजाका कारण ढिला विद्यालय पुग्दा सजाय खाने गरेको उनको स्मरणमा छ।

दियाली पूर्णिमामा पर्वतका विभिन्न ठाउँमा गरिने यस्तो खालको पूजा आजभोलि भने लोप हुँदै गएको छ। पाको पुस्ताले पूजाआजा गरे पनि पहिलेको जस्तै कुकुर बनाएर दौडाएको भने खासै देख्न पाइँदैन।

पाको पुस्तबाट पछिल्लो पछिल्लो पुस्तामा यो संस्कार सर्न सकेको छैन भने त्यो विगतमा जस्तो अहिलेका बालबालिकाहरूमा पूजापाठ, संस्कार रक्षा, संस्कृतिको निरन्तरतामा चासो नहुँदा कुकुर बन्ने चलन त हराइसक्यो नै दियाली पूजा पनि पहिलेको भन्दा कम हुने गरेको छ।

मंसिर शुक्ल पूर्णिमाको दिनमा गरिने दियाली पूजाकै दिनमा उधौली, धान्यपूर्णिमा, यःमरी पुन्ही पनि मनाउने गरिन्छ। उधौली, धान्यपूर्णिमा र यःमरीको चलन कायमै रहे पनि दियाली पूर्णिमाको संस्कार हराउँदै जाँदा यस्तै खालका धेरै प्रचलन लोप हुने अवस्थामा रहनु दुःखद भएको पाको पुस्ताको भनाइ छ।

महाशिला गापाकै ७८ वर्षीय चन्द्रबहादुर उचै दियाली पूजा भगवान् र प्रकृतिसँग जोडिएको बताउँछन्। हिन्दु संस्कारमा भगवान् र प्रकृतिप्रति धेरै आस्था रहने गरेको बताउँदै उनले गोरस (दूध, मही वा अन्य दुग्धजन्य पदार्थ) हुने घरमा दियाली पूजा हुने गरेको बताए।

‘जसको घरमा गोरस हुन्छ। दुहुना चौपाया हुन्छन्। ती गोठमा यो पूजा हुने गरेको हो। यो पूजा प्रकृतिसँग जोडिएको छ। भगवान्, पितृ र प्रकृतिलाई दूध र खीर चढाएर पूजा हुने गरेको हो। मैले त जसोतसो पूजा गर्दै आइरहेको छु तर आजभोलि यो हराइसक्यो’, उनी भन्छन्, ‘पितृ खुसी नभए गोठमा हानि हुन्छ भन्ने थियो। हामीले मात्रै दूध खाने तर पितृले खान नपाउने हुँदा पितृहरू दुहुना चौपाया उत्रिएर दूध नै नदिने बनाइदिन्छन् भन्ने चलन थियो। अहिलेकाले न गाईभैँसी पाल्छन्, न दियाली पूजा गर्छन्।’

फलेवास नगरपालिकाका ज्येष्ठ नागरिक नन्दलाल शर्माले दियाली पूजामा खीर पकाएर गोठमा पूजा गरेर देवता र पितृलाई अर्पण नगरेसम्म खीर खान नहुने मान्यता रहेको बताउँछन्।

मंसिरमा भित्र्याएको नयाँ धानबाट बनेको चामलबाट बनेको खीर पहिले देवता र पितृलाई चढाएर मात्रै खानुपर्ने उनको भनाइ छ। दियाली पूर्णिमा देवताका लागि खीर चढेपछि मात्रै आफूहरूले खाने गरेको शर्मा बताउँछन्।

आफूहरूको संस्कारमा हरेक नयाँ अन्नबाली देवता र पितृको नाममा चढाएर मात्रै उपभोग गर्ने भएकोले धान, चामल, मकै लगायत अन्न खान लायकका भएपछि कोही देवताका थानमा त कोही पूजा गरेर घरगोठमा चढाउने प्रचलन छ।

दियाली पूजा नियमित पूजा भएको र यो पूजा कूल देवताका नाममा हुने पण्डित केदारराज उपाध्याय बताउँछन्। यो पूजामा कतिपयले बलि चढाउने र बलि नचढाउनेहरूले खीर, रोटी वा पवित्र बस्तु पितृका नाममा अर्पण गर्ने चलन रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.