|

विराटनगर : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएसँगै प्रदेश १ मा समानुपातिक प्रणालीबाट छानिने सांसदको लगभग टुंगो लागेको छ।

प्रदेशका ३७ समानुपातिक सांसदमध्ये ३१ जना महिला हुनेछन्। प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारू ४.१५ प्रतिशत, मधेशी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ। उनीहरूमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्नेछ।

कूल ९३ सदस्यीय एक नम्बर प्रदेशसभामा ३७ जना समानुपातिकबाट आउँदा ५६ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन्।

दलहरूले शनिबारसम्म समानुपातिक तर्फको नाममा निर्णय गरेर पठाइसक्नुपर्ने छ।

एमालेबाट को को परे?

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ सिट र समानुपातिकतर्फ १५ सिट जितेको छ। प्रदेश १ मा प्रत्यक्षतर्फ एकजना पनि महिला निर्वाचित भएका छैनन्। त्यसो हुँदा समानुपातिकतर्फ १५ सिटमध्ये १३ जना महिलालाई एमालेले पठाउनुपर्ने हुन्छ।

एमालेबाट समानुपातिकतर्फ १५ सिटमध्ये २ पुरुष र १३ महिलामा ७ जना आदिवासी जनजाति र ४ जना खसआर्यलाई पठाउनुपर्नेछ। यस्तै दलित, मधेशी, थारू र मुस्लिमतर्फ १–१ जनाको प्रतिनिधत्व हुनेछ।

एमालेको समानुपातिक सूचीमा रहेकामध्ये पुरुषहरूतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका ओखलढुंगाका किशोरकुमार अधिकारी र आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका पाँचथरका श्रीप्रसाद जवेगु सांसद बन्ने देखिएको छ। ५८ वर्षीय अधिकारी एमालेका केन्द्रीय सदस्य हुन् भने ५१ वर्षीय जवेगु रामबहादुर थापा बादलसँगै माओवादी छाडेर एमालेमै बसेका नेता हुन्।

एमालेको बन्दसूचीमा रहेका ६ महिलाले प्रदेशसभा सदस्य बन्ने अवसर पाउने देखिन्छ। जसमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवार, झापाकी ५९ वर्षीया कमला थापा मगर, सुनसरीकी ४७ वर्षीय मीना श्रेष्ठ, भोजपुरकी ३८ वर्षीया सिर्जना राई, मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बू र धनकुटाकी ४६ वर्षीया मनकुमारी तितुङ छन्। एमालेले श्रीप्रसाद जवेगुलाई सांसद नबनाएको अवस्थामा भने भोजपुरकी वन्दना राईले पनि अवसर पाउनेछिन्।

खसआर्यतर्फ किशोरकुमार अधिकारीलाई छनौट गरेमा महिलाबाट ३ जनाले अवसर पाउनेछन्। जसमा मोरङकी ६१ वर्षीया शीला दीक्षित कार्की, झापाकी ६६ वर्षीया तारादेवी ढकाल र सुनसरीकी ५७ वर्षीया निरादेवी खनाल छन्। खनाल एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यकी श्रीमती हुन्। पुरुषतर्फ खसआर्यका अधिकारीलाई एमालेले नचुनेमा उदयपुरकी गीतादेवी रेग्मीले अवसर पाउनेछिन्।

यस्तै दलिततर्फ तेह्रथुमकी ४९ वर्षीया कमलादेवी दर्नाल, मधेशीतर्फ मोरङकी ४० वर्षीया गीतारानी महतो, थारूबाट मोरङकै ५१ वर्षीया ललिताकुमारी चौधरी र मुस्लिमबाट मोरङकै ३८ वर्षीया नुर सदि बेगमलाई पठाउनेछ। समानुपातिकको बन्दसूचीबाट एमालेले ३ जना अल्पसंख्यकलाई अनिवार्य प्रदेशसभामा पठाउनुपर्छ। एमालेको बन्दसूचीमा अल्संख्यकतर्फ झापाका नम्बरलाल धिमाल, विद्यानन्दसिंह राजवंशी, उदयपुरकी सृजना दनुवार, सुनसरीकी यशोदा कायस्थ, संखुवासभाकी लहरुमाया जीमी र मोरङका अरुणकुमार राठीको नाम छ। उनीहरूमध्ये सूचीक्रममा रहेकी दनुवार प्रदेशसभा सदस्य बन्नेछन् भने बाँकी २ जना एमालेले छान्न पाउनेछ।

अल्पसंख्यकतर्फ एमालेले धिमाललाई चयन गरेमा जवेगु बाहिरिनेछन् भने कायस्थलाई चयन गरे धनकुटाकी मनकुमारी तितुङको नाम संकटमा पर्नेछ। यस्तै अल्संख्यकतर्फ अरुणकुमार राठीको नाम चयन भए अर्को एकजना पुरुषको मात्र नाम पर्नेछ भने गीतारानी महतो बाहिरिनेछिन्।
 
यस्तो छ काँग्रेसको सम्भावित नाम

काँग्रेसतर्फबाट पनि प्रत्यक्षतर्फ कुनै महिलाले चुनाब जितेका छैनन्। त्यसैले समानुपातिकतर्फ पाएको १२ सिटमध्ये १० जना महिलालाई प्रदेशसभामा पठाउनुपर्नेछ।

काँग्रेसले समानुपातिकतर्फ १२ सिटमध्ये २ पुरुष र १० महिलामा ६ जना आदिवासी जनजाति र ३ जना खसआर्यलाई पठाउनुपर्नेछ। यस्तै दलित, मधेशी र थारू १–१ जनाको प्रतिनिधित्व हुनेछ।

काँग्रेसको समानुपातिक सूचीमा रहेकामध्ये पुरुषहरूतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका झापाका उद्धव थापा प्रदेशसभा सदस्य बन्ने निश्चित छ। ६४ वर्षीय उनी काँग्रेस प्रदेश समितिका सभापति हुन्। काँग्रेसले पाउने अर्को पुरुष कोटामा झापाकै मोहन महर्जनको सम्भावना छ।

महर्जनलाई प्रदेशसभामा पठाएमा काँग्रेसले आदिवासी जनजातितर्फ थप ५ महिलालाई प्रदेशसभामा पठाउनुपर्छ। पाँचथरकी ४४ वर्षीया मैया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ र मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा प्रदेशसभा सदस्य बन्नेछन्। पुरुषतर्फका महर्जनलाई काँग्रेसले प्रदेशसभामा नपठाएमा सुनसरीकी अनु गुरुङले अवसर पाउनेछिन्।

खसआर्यतर्फ पुरुषमा उद्धव थापालाई पठाएपछि काँग्रेसले थप २ महिला मात्र खसआर्यबाट प्रदेशसभामा पठाउनेछ। उनीहरू धनकुटाकी ५४ वर्षीया इन्दिरा थापा र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेल छन्। यदि उद्धव थापालाई प्रदेशसभामा काँग्रेसले नपठाएमा धनकुटाकी सुमना तिम्सिनाले अवसर पाउनेछिन्।

काँग्रेसबाट दलित कोटामा सुनसरीकी ४२ वर्षीया सुनितकुमारी गुरुङ, थारू कोटामा सुनसरीकै ४२ वर्षीया सुनिता गच्छदार र मधेशी कोटामा झापाकी ४८ वर्षीया लखिकुमारी गणेश प्रदेशसभा सदस्य बन्नेछन्।

माओवादी केन्द्रबाट को को ?

नेकपा माओवादी केन्द्रले ९ सिटमध्ये प्रत्यक्षमा कोही पनि महिला निर्वाचित नभएकाले समानुपातिक तर्फको ४ सिटमा सबै महिलालाई पठाउनुपर्नेछ। निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टरअनुसार कुनै पनि दलले ४ जना समानुपातिक सिट प्राप्त गरेमा उनले २ जना जनजाति, १ खसआर्य र १ दलितको प्रतिनिधित्व गराउनुपर्छ। त्यसमा १ जना अल्संख्यक समुदायको पनि हुनुपर्ने व्यवस्था छ।
 
यो व्यवस्थाअनुसार प्रदेशसभामा माओवादीले निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार आदिवासी जनजाति कोटामा पहिलो नम्बरमा नाम भएकी झापाकी बन्दना झाँगर, आदिवासी जनजातिको दोस्रो नम्बरमा नाम भएकी उदयपुरकी सम्झना तामाङ थाम्सुहाङ, खसआर्यको पहिलो नम्बरमा नाम भएकी मोरङकी गीता तिम्सिना र दलिततर्फ पहिलो नम्बरमा नाम भएकी सुनसरीकी सपना दर्जी प्रदेशसभा सदस्यमा निर्वाचित हुने भएका छन्।

उनीहरूमध्ये झाँगर अल्पसंख्यक पनि हुन्। ४० वर्षीया तिम्सिना र ३६ वर्षीया दर्जी पार्टीका केन्द्रीय सदस्य छन् भने ३६ वर्षीया झाँगर र ४० वर्षीया तामाङ प्रदेश समिति सदस्य हुन्।

राप्रपा, समाजवादी र जसपा

प्रदेशसभाको प्रत्यक्षतर्फ २ सिट जितेको राप्रपाले समानुपतिकमा ४ सिट पाएको छ। प्रत्यक्षतर्फ राप्रपाकी एक महिलाले चुनाव जितेकी छन्। यसले गर्दा समानुपतिकतर्फका ४ जना (१ महिला र ३ पुरुष)लाई प्रदेशमा पठाउन सक्छ।

राप्रपाले समानुपतिकतर्फको ४ सिटमा २ आदिवासी जनजाति, एक दलित र एक खसआर्य पठाउनुपर्नेछ। समानुपातिक बन्दसूची अनुसार पाँचथरका ६० वर्षीय प्रेमराज थाम्सुहाङ र झापाकी ४१ वर्षीया निमसरी राजवंशी आदिवासी जनजाति कोटामा प्रदेशसभा सदस्य हुने निश्चित देखिएको छ।

यस्तै झापाका ६८ वर्षीय अम्बरबहादुर विष्ट खसआर्य कोटामा र झापाकै ६५ वर्षीय गोपालबहादुर विश्वकर्मा दलित कोटामा प्रदेशसभा सदस्य हुने भएका छन्।

प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको एकीकृत समाजवादीले समानुपतिकतर्फ १ सिट जितेको छ। प्रत्यक्षमा जित्नेमध्ये १ महिला रहेकाले उसले समानुपातिकको सिटमा महिलालाई नै पठाउनुपर्नेछ। समाजवादीबाट मोरङकी ५६ वर्षीया विद्या चाम्लिङ प्रदेशसभा सदस्य हुनेछिन्।

यसैगरी प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकतर्फ १ सिट पाएको छ। सो सिटमा जसपाले ताप्लेजुङकी निर्मला लिम्बूलाई प्रतिनिधित्व गराउनेछ।

समानुपातिकमा कसको कति मत ?

प्रदेश १ मा नेकपा एमालेले ६,६५,४६० मत प्राप्त गरेकोमा उसले १५ सिट पाएको छ भने काँग्रेसले ५,६२,९५६ मत प्राप्त गर्दा १२ सिट पाएको छ। यस्तै माओवादी केन्द्रले १,८१,२४५, राप्रपाले १,९८,५११ मत प्राप्त गरे। जसपाले ६१,७२३ मत पाएर १ सिट र नेकपा एकीकृत समाजवादीले ५५,९५७ मत पाएर १ सिट पाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.