|

हेटौंडा : विराटनगर र वीरगञ्जमा कन्सर्ट सफलताका साथ सम्पन्न गरेकाे नेपथ्यले हेटौंडामा पनि दर्शकहरूबाट उत्तिकै न्यानो स्वागत पाएको छ। 

अघिल्ला दुवै कन्सर्टमा ‘भेडाको ऊनजस्तो’बाट शुरु गरेको नेपथ्यले अलिक सुस्त गतिको गीतबाट आफूलाई प्रस्तुत गरेकाे थियाे। हेटौंडामा गाइएको प्रारम्भिक गीत आँगनै भरि हिउँ नै झरे  नेपथ्यको इतिहासमा पनि पहिलो रचना हाे।

स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्वीरहरू देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउने गरि तस्वीरहरूको संयोजन गरिएको थियो।

ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाइरहँदा पूर्णिमाको जूनले हेटौंडाको मनकामना डाँडाबाट आफूलाई बिस्तारै मास्तिर उकाल्दै लगेको मनोरम दृश्य देखिन्थ्यो।

ब्याण्डका गायक तथा अगुवा अमृत गुरुङले भने‚ ‘यो जुनेली रातलाई अझ रमाइलो बनाउनका निम्ति म तपाईंहरूलाई लमजुङतर्फ लैजान चाहन्छु। म रोधीघरतिर तपाईंहरूलाई डुलाउन चाहन्छु।’

त्यसपछि उनले ‘लामपाते सुरती’ बाेलकाे गीत गाए। ‘चरी मर्‍याे’, ‘जाेमसाेमै बजारमा’, ‘शिरफूल शिरैमा’ लगायतका गीत पनि क्रमश: गुञ्जिए।​​

कार्यक्रम अवधिभर गायक गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बताएका थिए। घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकहरूको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीन हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूको मन छुने तस्वीरहरू देखाइएको थियो।

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरूलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरूकै निम्ति यसअघि ४ पटक हेटौंडामा आफूलाई प्रस्तुत गरिसकेका उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ-आफ्नो ठाउँबाट गच्छेअनुसारको दान गर्न आजैबाट शुरु गर्नुस्।’

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौंडाको भुटनदेवी स्कुल मैदानमा भरिएका अधिकांश दर्शकहरूले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाले‚ ‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ तर अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकआपसमा जोडिनु पर्छ। हामीले गाउँ गाउँमा अस्पताल पुर्‍याउनका निम्ति जोडिनै पर्छ।’

धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो। कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीन हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्र सूर्जे’ बाट बिट मारिएको थियो।

‘हेटौंडामा नेपथ्यलाई सबैभन्दा बढी मन पराउने मानिस बस्छौं,’ भीडकै बीच नृत्य गरिरहेका तन्नेरी आकाश अधिकारी भनिरहेका थिए, ‘ब्याण्डको एकल कार्यक्रम पहिलोपटक खुला आकाशमुनि यसरी भएकोमा पहिलेभन्दा झनै रमाइलो लागिरहेको छ।’

दर्शक दीर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरूको शुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो। कन्सर्ट हेर्न आएका साना नानीहरूलाई भने मञ्चको ठीक अगाडि सुरक्षित तवरले रमाउन सक्ने गरि बन्दोबस्त मिलाइएको थियो।

हेटौंडाको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली ५ वटा ट्रक र २ वटा बसमार्फत् नारायणघाटतर्फ प्रस्थान गर्दैछ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘क्याम्पा चौर’मा नेपथ्य मंसिर २५ गते आइतबार प्रस्तुत हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.