|

काभ्रे : बागमती प्रदेशकी पूर्वप्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले देशभित्रै लैङ्गिक हिंसाको स्थिति डरलाग्दो अवस्थामा भएको बताउँदै नेताहरू यसबारे मौन रहेको बताएकी छिन्।

शुक्रबार धुलिखेलस्थित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला समन्वय समिति काभ्रे र गैरसरकारी महासंघ नेपालको संयुक्त कार्यक्रममा कोइरालाले उक्त कुरा बताएकी हुन्।

कोइरालाले देशमा लैङ्गिक हिंसाको अवस्था भयावह भए पनि यसबारे राजनीतिक दलका नेताहरू बोल्नै नचाहेको आरोप लगाइन्। उनले भनिन्, 'लैङ्गिक हिंसाको स्थिति देशमा डरलाग्दो छ तर नेताहरू यसबारे बेखबरझैँ रहेर बोल्नै चाहँदैनन्।'

त्यस्तै उनले महिला तथा बालबालिका बेचबिखन पनि उत्तिकै मात्रामा रहेको बताउँदै राज्यले पहलकदमी नलिएसम्म यसको नियन्त्रण सम्भावना नहुने जिकिर गरिन्।

सीमित संस्थाको पहलमा मात्रै हिंसा रोक्न नसक्ने उनको भनाइ थियो। त्यस्तै उनले काभ्रेको सन्दर्भमा अहिले सबैभन्दा बढी रोशीबाट महिला तथा बालबालिका बेचबिखन भइरहेको बताइन्।​

यसैगरी पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले माओवादी आन्दोलनले समानुपातिक समानतासँगै लैङ्गिक हिंसाविरुद्ध समेत आवाज उठाएको बताए।

पूर्वमन्त्री तथा काभ्रे-२ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले देशबाट पुँजीवाद हराएमा मात्रै देशमा हिंसा हट्ने बताए। उनले पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म लैङ्गिक हिंसा रहिरहने दाबी गरे।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले लैङ्गिक हिंसाको अभियानमा आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बेलर इन्टरनेशनल स्कुलका विद्यार्थीले लैङ्गिक हिंसासँग सम्बन्धित नाट्य नृत्य प्रस्तुत गरेका थिए। लैङ्गिक हिंसाविरुद्ध काम गर्ने १३ जना महिलालाई सम्मान गरिएको थियो। कलाकारहरू मनोज गजुरेल, पशुपति शर्मा, अस्मिता अधिकारीसहित बालकलाकार सुप्रीम मल्ल, आयुशा गौतम लगायतले सांस्कृतिक प्रस्तुति  प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.