|

रौतहट : रौतहटको वृन्दावन नगरपालिकाका मेयर र उपमेयरबीच विवाद सुरु भएको छ। वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मीले उपप्रमुखमाथि आर्थिक लाभ लिने उद्देश्यले गलत आरोप लगाउने गरेको आरोप लगाएका छन्।

शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरि नगरप्रमुख कुर्मीले उपप्रमुख संगीतादेवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माणका कार्यहरु प्रभावित हुन पुगेको आरोप लगाए।

चालु आर्थिक वर्षको लागि छुट्याएको २९ करोड रकममध्ये ३ करोड निजी रुपमा सञ्चालन गर्नको लागि माग गर्दा विकासको योजना सञ्चालनबाहेक रकम भागबण्डा गर्न नसकिने जबाफ दिएपछि उपप्रमुख रामले आफ्ना समर्थकहरुको सामाजिक सञ्जाल मार्फत आरोप लगाउने कार्य गरेको टिप्पणी गरे।

उनले भने‚ ‘न्यायिक समिति सञ्चालन गर्नको लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु, आफैँ नगरपालिका आउँदैन, नगरपालिकाको बिषयगत समितिका जिम्मेवारी पाएका उपप्रमुख रामले अहिलेसम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट सञ्चालनमा समस्या उत्पन्न भइरहेको छ।’

पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दावी गर्दै निर्वाचनको बेला जनतासित गरेको बाचा पूरा गर्न एक इन्च पनि पछि नहट्ने ठोकुवा गरे।

भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने तथा उपप्रमुखको उद्देश्य कुनै हालतमा पूरा नहुन दिने अडान दोहोर्‍याउँदै मेयर कुर्मीले उपप्रमुख कार्यालय नआए कानुन बमोजिम अर्को विकल्प रोज्ने चेतावनीसमेत  दिएका छन्। राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख कुर्मीले उपप्रमुख रामकी ३ करोडको माग कुनै पनि हालतमा पूरा गर्न सकिँदैन बरु राजीनामा दिने बताएका छन्।

उपप्रमुख बैठकमा सहभागी नहुँदा नगर भित्र रहेको बागमती तथा चाँदी नदीको टेण्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यन्वयन गर्न कठिनाई भएको उनको भनाइ रहेको छ। नगर प्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मरमतको नाउमा ११ लाख रकम माग गरेकोमा त्यो नदिदा गलत आरोप लगाउने गरेको बताउँदै उपप्रमुख बाट आफै पिडित भएको उल्लेख गरे।

१ करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको जानकारी दिँदै नगरप्रमुख कुर्मीले निष्पक्ष, निस्वार्थ रुपमा जनताको लागि काम गर्ने भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए।

नगरप्रमुख कुर्मीले आफू समृद्ध वृन्दावन, भ्रष्टाचाररहित वृन्दावन निर्माणमा जुटेको अवस्थामा आफूलाई सबैले सहयोग गर्नुपर्नेमा उपमेयर रामको नियतमै भ्रष्टाचार देखिएकोले वृन्दावनका जनताको इच्छा पूरा गर्न आफूलाई समस्या भएको बताए। उनले अब यस्तै रवैया रही रह्यो भने जनतासँग सवै कुरा प्रष्ट राखेर कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी समेत दिए।

उनले आफ्नो सम्पूर्ण जीवन राजनीतिमै बितेको स्मरण गर्दै आफ्नो व्यक्तिगत व्यथासमेत सो पत्रकार सम्मेलनमा पोखे। यतिखेर आफूसँग रहेको सबै सम्पत्ति बैंकले लिलाम गर्न सूचना निकालिसकेको र त्योभन्दा बढी तिर्न बााकी रहेको अवस्थामा जनताकै लागि आफूले सबै त्याग गरेको बताए। यस बिषयमा उपप्रमुख रामसँग सोध्दा उनी आफू पनि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.