|

काठमाडौं : उनीहरू कसैको अनुहारमा आफन्तले नै एसिड फ्याँके, कसैको सम्बन्धविच्छेद भइसकेको पतिले त कसैको आफ्नै साथी, आफ्नै प्रेमी, कसैको आफ्नै दाजुभाइले समेत एसिड फ्याँके।

जीवनको सबैभन्दा कष्टकर समय, एउटा अनिच्छित घुम्ती काटेर उनीहरू एउटा सहज र खुशी जीवन बिताउन चाहन्छन् र धेरै हदसम्म सफल पनि छन्। 

काठमाडौं अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को अन्तिम दिन सोमबार पर्यटन बोर्डमा भारतीय निर्देशक सिद्धान्त सरिन र देवकोन सिंह सोलंकीको डकुमेन्ट्री फिल्म ‘आइना’ (मिरर) प्रदर्शन भयो। जसमा एसिड आक्रमणमा परेका युवतीहरूको कथा समेटिएको छ।

सामान्य जीवनमा फर्किन प्रयासरत र समाजसँग अझै पनि लामो लडाइ लडिरहेका युवतीहरूको कथा रहेको फिल्ममा पात्रहरूको रुवाइ देखाइएको छैन। फिल्मको शुरुदेखि अन्तिमसम्म उनीहरूको हाँसो मात्रै छ। पात्रहरूले गरेको हाँसो र मजाकमा पनि उनीहरूको कष्टकर विगत महशुश गर्न सकिन्छ। 

उनीहरूमध्ये कोही आफ्नै रेष्टुरेन्ट खोलेर बसेका छन्, आफूजस्तै अरु युवतीहरूलाई पनि रोजगार दिएका छन्, केही मोडलिङ गर्दै छन्, अरु पनि आत्मनिर्भर भएर बाँचिरहेका छन्। भौतिक रुपमा अरुमा निर्भर हुन नपरे पनि समाजले हेर्ने फरक नजरको सामना भने उनीहरू लगातार गरिरहेका छन्।

एसिड आक्रमणमा परेकै कारण उनीहरूको विवाह हुन सकेको छैन भने केहीले आफ्नो विचार मिल्ने, एसिडले बिगारेको अनुहारले फरक नपर्ने साथी भेटेका पनि छन्। 

एसिड आक्रमणमा परेका भारतीय युवतीहरूमाथि बनाइएको फिल्म भए पनि यसले विश्वभरिका एसिड आक्रमणबाट पीडितहरूको कथा भनेको छ। विशेष गरी देशको कानुन, त्यसको कार्यान्वयन र सामाजिक बनोटका कारण भारतसहित नेपाल, बंगलादेशसहित दक्षिण एशिया तथा यस्तै आर्थिक, सामाजिक र राजनीतिक पृष्ठभूमि रहेका देशहरूका पीडितहरूको प्रतिनिधित्व फिल्मले गरेको छ। 

‘आइना’ यस वर्ष किम्फबाहेक जर्मनी, पुर्टोरिको, बंगलादेश, भारत लगायतका देशका दशवटा अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा भाग लिइसकेको छ। फिल्मले डकुमेन्ट्रिज विदाउट बोर्डर फिल्म फेस्टिवलमा एक्सिलेन्स अवार्ड र पुर्टोरिको फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड पाएको थियो। 

गत बिहीबार शुरु भएको किम्फको २० औँ संस्करण सोमबार (आज) सकिँदैछ। महोत्सवमा ३० देशका लामा, छोटा र डकुमेन्ट्री गरेर ६० वटा फिल्म प्रदर्शन भएका छन्। साथै फिल्मसँग सम्बन्धित विभिन्न विषयमा बहस पनि भएका थिए। 

सन् २००० देखि नियमित आयोजना हुँदै आएको महोत्सवका पछिल्ला दुई संस्करण भर्चुअल रुपमा भएको थियो। दुई वर्षपछि दर्शक तथा सहभागीको प्रत्यक्ष सहभागितामा महोत्सव आयोजना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.