|

खोटाङ : जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुईजना बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो।

दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का पारिवारिक समस्याका कारणले बिदा बसेपछि सेवा प्रभावित भएको हो ।कर्मचारी नभएपछि आइतबारदेखि बिहीबारसम्मका लागि एक्स–रे सेवा बन्द गरेको अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए। ‘अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स–रे  हुने गरेको थियो’, उनले भने, ‘अस्पतालमा कार्यरत दुवैजना रेडियोग्राफर बिदा गएपछि सूचना प्रकाशन गरेर एक्स–रे  सेवा बन्द गरिएको हो।’ 

जिल्लाको एकमात्र सरकारी अस्पतालको सेवा बन्द भएपछि एक्स–रे  गर्न आएका बिरामी अन्यत्र जान बाध्य छन्। बाहिर गएर एक्स–रे गर्दा निजी अस्पतालले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ। एक्स–रे गर्न जिल्ला अस्पताल पुग्दा पुस १ गते आउन भनेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका कम्पसेर राईले बताए।

वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्स–रे  मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख यादवले बताए। 

जिल्ला अस्पतालको एक्स–रे  सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन्। अस्पतलमा देखिएको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख भट्टराईले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.