|
प्रतीकात्मक स्केच

बनियानी : ‘रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, आफूले नभोगे पनि धेरै दिदीबहिनीले अत्यन्तकष्ट भोगिरहेको देखेँ’, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किएकी,कुमारी चेम्जोङको। घरेलु कामदारका रूपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको उनले बताइन्।

राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा कुमारीले आफ्नो कुवेत बसाइँको अनुभव सुनाएकी हुन्। ‘सिीप नभए पनि घरेलु कामदारका रूपमा विदेश गएर महिलाले घरपरिवार चलाएका छन्’, उनले भनिन्। 

वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रस पुगेर गत वैशाखमा फर्किएकी भद्रपुर–६ की सपना रायले आफू म्यानपावर कम्पनीबाट ठगिएको गुनासो गरिन्। सरकारले समेत आफूलाई न्याय नदिएको उनले बताइन्। पैसा माग्दा म्यानपावरको मान्छेले उल्टै गाली गर्छ। ‘श्रम मन्त्रालय जाँदा आश्वासनमात्र पाएँ’, उनले भनिन्, ‘पटक–पटक आउनु भन्छन्। मेरो त्यस्तो अवस्था छैन।’

नियम–कानुन कागजमा मात्र सीमित भएको, व्यवहारमा नभएको भन्दै उहाँले पीडितले न्याय पाउन साह्रै कठिन भएको अनुभव सुनाइन्। ‘नियमनकारी निकायमा जाँदा कर्मचारीले मलाई सोधेर गएको थिइस् भन्छन्’, उनले भनिन्, ‘कोही पनि रहरले विदेश जाँदैन, सबैको बाध्यता र विवशता हुन्छ।’

कार्यक्रममा माइती नेपालकी प्रतिनिधि पार्वता राजवंशीले पैसा कमाउन विदेश गएकी एक महिला गर्भवती भएर फर्किएको बताइन्। ‘अहिले नानीको जन्मदर्ता बनाउन के गर्नुपर्छ भनेर सोध्छिन्’, उनले भनिन्, ‘यस्तो समस्याको के व्यवस्था छ र!’ 

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ठूलो आँट र साहस बोकेर विदेश जानुपर्ने बाध्यता रहेको बताए। उनले राज्य सबै नागरिकको अभिभावक भएको र राज्यको अंगमा बस्नेहरूले सोहीअनुरुप व्यवहार गर्नुपर्ने धारणा राखे।

प्रदेश तहबाटै वैदेशिक रोजगारीका सबै काम हुनसके वैदेशिक रोजगारीको ठगीलगायतका विविध समस्या कम गर्न सक्ने उनको सुझाव छ । उनले वैदेशिक रोजगारीमा जानेहरूले म्यानपावरलाई पैसा बुझाउँदा कम्तीमा दशपटक सोच्नुपर्ने तर्क गरे।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले वैदेशिक रोजगारीसम्बन्धी प्रदेश नं १ को अवस्थाको कार्यपत्र प्रस्तुत गरे। कार्यपत्रमा प्रदेश १ बाट वैदेशिक रोजगारीमा महिलाको अवस्था समस्याग्रस्त रहेको उल्लेख छ ।

कार्यपत्रमा ९९ प्रतिशत अदक्ष कामदार विदेशमा जाने गरेको उल्लेख छ । कुवेत, बहराइन, साइप्रस, ओमनमा बढी घरेलु महिला कामदार जाने गरेको पौडेलले बताए। ‘सम्झौताविपरीतको काम गर्नुपर्ने, दलालबाट बेचिने, यौन हिंसाको सिकार हुनुपरेको छ’, उनले भने, “ठगीसम्बन्धी समस्या सम्बोधन गर्न सकिएको छैन।’ वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाहरूले पाउने राहत रकम पाउन पनि धेरै समस्या रहेको उनको भनाइ छ ।

खुला सीमानाका भएकाले झापाबाट भारतीय बाटो हुँदै धेरै महिला वैदेशिक रोजगारीमा जाने र महिला बेचबिखन क्रम नरोकिएको कार्यपत्रमा उल्लेख छ।

कार्यक्रममा झापा बारकी कार्यसमिति सदस्य अधिवक्ता तारा बाराकोटीले वैदेशिक रोजगारीबाट पीडितहरूले कसरी न्याय पाइन्छ भन्ने जानकारी नै नभएको सुनाइन्। ‘विदेशमै कामकै सिलसिलामै मृत्यु भएकाहरू परिवारले हदम्यादबारे जानकारी नहुँदा क्षतिपूर्ति पाउन नसकेका छैनन्’, उनले भनिन्, ‘शव ल्याउन धेरै कठिन छ, क्षतिपूर्तिवापत प्राप्त रकममा पनि कमिसन माग्ने गरेको पाइएको छ।’

कार्यक्रममा झापाका १० वटा म्यानपावर व्यवसायीका शाखालाई सहभागिताका लागि पत्र पठाए पनि एक जनाको पनि सहभागिता थिएन भने यहाँका राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको पनि उपस्थिति थिएन।

कार्यक्रमको अध्यक्षता गरेकी राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले वैदेशिक रोजगारमा महिलाको सहभागितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले समस्या र सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिए पनि सरोकारवालाको उपस्थिति नहुनु दुःखद् भएको बताइन्।

‘म्यानपावर व्यवसायी सहभागी नहुनुले उनीहरूको नियत प्रष्ट हुन्छ’, उनले भनिन्। आयोग सदस्य पौडेलले जिल्लामा रहेको म्यानपावरको अनुगमन गरेर व्याप्त विकृत हटाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.