|
फाइल फोटो

भरतपुर : चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउनै मान्दैनन्। महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन्। तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन्। लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरू स्वास्थ्यचौकी नै पुग्दैनन्।

पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन्। समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिने गरेको उनले बताइन्। ‘पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्”, उनले भनिन्, ‘लाज नै मुख्य कारण हो।’ सानै उमेरमा विवाह गर्ने चलनले गर्दा कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जचाउन लाज मान्ने गरेको उनले बताइन्। विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लग्नुपर्ने उनको भनाइ छ।

वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत् छ। ‘गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्’, जौगैराकी माया चेपाङ भन्छिन्, ‘म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ।’ उनले अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको बताउँछिन्। बेलैमा गर्भ नजचाए आफ्नो ज्यान जोखिममा पर्ने र बच्चामा समस्या देखिन सक्ने उनले बुझेकी छिन्। ‘नयाँ छोरी–बुहारीलाई लजाउन हुँदैन भनेर भन्छु’, माया भन्छिन्, ‘समयमै गर्भ जाँच नगराएका कारण मेरा पनि दुईवटा सन्तान जन्मिएर खेर गए। समयमै गर्भ जाँचेको भए समस्या पत्ता लाग्थ्यो कि भन्ने लाग्छ।’

चेपाङ समुदायमा यो समस्या कायम रहेपछि इच्छाकामना गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम गरिरहेको छ। समयमै गर्भ जाँच्न आउने महिलाका लागि कम्तीमा चार महिनाका लागि आवश्यक पर्ने क्याल्सियम निःशुल्क वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए। ग्रामीण अल्ट्रासाउण्ड सुरू गरिसकेको उनले बताए।

गाउँपालिकाबाट टोलटोलमा पुगेर पनि स्वास्थ्य सेवा सञ्चालन गरिरहेको उनले जानकारी दिए। संघीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा ‘चेपाङका लागि पोषण’ कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको छ। जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.