पाल्पा : अग्लो डाँडाको टाकुरोमा रहेको एउटा मन्दिर। मन्दिर अगाडिको खुला चौर। जहाँ गुन्यु र चोलीमा सजिएका। गलामा माला पहिरिएका। गीतको लयमा मादल घन्किएका आवाज। त्यही तालमा जेष्ठ नागरिकसँगै भर्खरका किशोर किशोरीले नाचेर साथ दिइरहेका देखिन्थे। नाच हेर्न सयौंको संख्यामा दर्शकको भीड।
रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गास्थित रैनादेवी मन्दिर प्रांगणको दृष्य हो यो। यहाँ वर्षेनी मारूनी नाच्ने गर्छन्। न्वागी मेलाको अवसर पारेर यहाँ पुरानो संस्कृति झल्किने मारूनी नाच देखाइन्छ। लोप हुँदै गएको संस्कृति जगेर्ना गर्न जेष्ठ नागरिकसँगै युवा युवती पनि नाच्ने र गाउँदै आएका हुन्।
प्रायः बुढापाकाहरू मात्र नाच्ने मारूनी नाचमा पछिल्लो समय युवाको पनि आकर्षण बढ्दै गएको छ। गुन्यु चोली तथा परम्परागत लुगा लगाएर उनीहरू मादल र पुरानो मारूनी भाकामा छमछमती नाच्न थालेका छन्।
सानो उमेरदेखि हजुबुबा, बुबा नाचको हेर्दै आएको थिए पछि यसको महत्व बुझ्दै गएपछि आफु पनि नाच्न थालेको स्थानीय १५ वर्षीया सीता खाम्चाले बताइन्। आफूहरूलाई मारूनी सम्बन्धि गीत गाउन र नाच्न तालिम नै आवश्यक रहेको उनले बताइन्।
बाबुबाजेको पालाको नाच हो। यसलाइ बचाउन सके पछिल्लो समयमा निकै महत्वका साथ हेर्ने दर्शकको संख्या बढ्दै जाने बल्घाका युवा ताराबहादुर खाम्चाले बताए। ‘बुढापाकाहरूसँग मिलेर अहिले नाच्न, गाउन र बजाउन सिकिरहेका छौं’, उनले भने, ‘युवाले समूह नै तयार गरेर मारूनी नाचको संरक्षणमा जुटेका छौं।।’
यस गीतको लय र मादलको तालबारे युवा पुस्तालाई सिकाउनुपर्ने सँगै नाच्न पुगेका ८० वर्षीय जगबहादुर रेगामीले बताए। यस गीतको आफ्नै मौलिक संस्कृति छ। यस्ता नाच र गीतले पुरानो मानवीय संस्कार सिकाउँछ। यसको संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।
यो परम्परागत मौलिक संस्कृति भएको यसको संरक्षण गर्नुपर्नेमा स्थानीय युवा तथा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जोड दिए। धार्मिक र साँस्कृतिक हिसाबले यसको निकै महत्व छ। यसको संरक्षण गर्न सके यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न सकिने उनले बताए। ।
अहिले बुढापाकाको सहारामा युवाले मारूनी नाचिरहेका छन्। युवालाई दक्ष बनाएर मारूनी नाचको संरक्षण गर्न सके यहाँका युवा बेरोजगार हुनु नपर्ने उनी बताउँछन्। ‘होमस्टे सञ्चालन गरेर पूराना मौलीक नाच देखाउन सके आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्छ’, उनले थपे, ‘स्थानीय स्तरमा उत्पादन भएका खानाका परिकार उपलब्ध गराउन सके यसले मनग्य आम्दानी हुन्छ।’
उनकाअनुसार रैनादेवी मन्दिरमा चढाएपछि ग्रहण गरिने न्वागीको प्रसाद निकै महत्व मानिन्छ।
यहाँको मारूनी नाचलाई संरक्षण गर्न वडाले विभिन्न सहयोग गर्दै आएको वडाध्यक्ष प्रदीप पौडेलले बताए। युवालाई आकर्षण गरेर मारूनी नाचको संरक्षण गर्ने प्रयास भइरहेको उनले बताए।
रैनादेवीमा वर्षेनी हुने न्वागी मेला र मारूनी नाचको सम्बन्ध रहेको पाइन्छ। बर्खामा खेती गरेर उब्जीएको धान स्याहारेपछि सुखको मानोका रुपमा खानु अघि रैनादेवी भगवतीलाई चढाउने चलन छ। देवीलाई चढाउने बेलामा मन्दिर परिसरमा गाउँभरीका जुटेर मारूनी नाच देखाउने परम्परा रहेको जगबहादुर रेगामीले बताए। उनकाअनुसार हर्सोउल्लासका साथ देवीलाई न्वागी चढाएपछि नयाँ चामलको भात खाने प्रचलन छ।
मारूनी नाच के हो?
स्थानीय ८४ वर्षीय भूपाल खाम्चाका अनुसार मारूनी नाच जिजुबाजेका पालादेखिको नेपालको पुरानो मौलीक नाच हो। भर्खरका युवालाई महिलाको पूराना संस्कृति झल्किने लुगाहरू लगाएर मारूनी बनाई नचाइन्छ। पौराणिक कथाहरू समेटिएका गीत सँगै घन्किएको मादलुको तालमा उनीहरु नाच्ने गर्छन्। पाल्पामा प्रायः मगर समुदायको मानिस यो गीतमा नाच्ने गर्छन्। परम्परागत शैलीमा नाचिने यो नाच प्रायः दशैँ, तिहारमा नाच्ने गरिन्छ। तर भुवनपोखरीमा भने ठूलै पर्वको रुपमा लिएर न्वागी मेलामा विशेष मारूनी नाच देखाउँदै आएको पाइन्छ।
‘बर्खा अघि रोपेको धान काटेर थन्काइ सकेपछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ’, खाम्चाले भने, ‘दशैंको कालरात्रीको दिन सुरु गरिएको मारुनी नाच न्वागी मेलासम्म चलिरहन्छ।’
यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ। मादलको तालमा मारुनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ ।
'मारुनी नाचमा कम्तिमा दुइ जना मारूनी दुई देखि तिनजना मादले, एक जना पुरसिङ्गे र ६ जना देखि १० जना सम्म गायकहरू हुनु पर्छ। गायकहरूमा एक जना गुरु हुन्छ। गुरुलाई रौरा पनि भनिन्छ', खाम्चाले थपे।
मझौटे गीत, टप्पा र ख्याली गीत रमाइलो गरिने गीतहरू भएकाले यी गीतहरूमा एकजना मादले, एक जना पुर्छुङ्गे (पुर्सिङ्गे) र एक जना मारूनीले मात्र नाच्ने गर्छन्। भने अन्य सबै समूहमा नाच्ने गाउने गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।