|

सुर्खेत : जाजरकोट सदरमुकाम खलंगाबाट कुशे गाउँपालिकाको पाँचकाटिया सम्मको सडक निर्माण कार्य थालिएको करिब १४ वर्ष बित्यो। यही सडकमा यात्रा गर्ने यात्रुहरुले दुर्घटना हुँदा अकालमै ज्यानसमेत गुमाउनु परेको छ।

२२ किलोमिटर सडक रहेको यो सडकको नाम लुम्बिनी –रारा सडकको एक हिस्सा मानिन्छ। मध्यपहाडी लोकमार्गदेखि भेरी करिडोरसम्म छोएर यो सडक जुम्ला जोड्ने छोटो मार्गका रुपमा समेत लिने गरिन्छ। 

तत्कालीन जिल्ला विकास समितिले मात्र विभिन्न शीर्षकमा १८ करोड रकम खर्चेको यो सडकको अवस्था अहिले पनि जहाँको तहीँ रहेको छ। जिल्ला विकासपछि सडक डिभिजन चौरजहारीले समेत यसमा भारी लगानी गरिसकेको छ।

जति रकम यो सडकमा लगानी गरे पनि प्रतिफल भने शून्य रहँदै आएको छ।

सडक निर्माणका लागि संघीय सरकारले बजेट थुपारे पनि अहिलेसम्म यातायातका साधनहरु सञ्चालन हुने अवस्था छैन।

 हलुका सवारीसाधन यो बाटोमा मुस्किलले हिउँद याममा गुडे पनि भाडादर असाध्य चर्को हुँदा सबैले यातायातको सुविधा लिने अवस्था छैन। सदरमुकामदेखि पाँचकाटिया सम्मको सडक निर्माणका लागि स्थानीय निर्माण व्यवसायीले ठेक्का लिँदै आए पनि काम गतिलो नहुँदा वर्षेनी सडकको सुधार हुन नसकेको हो।

आफू दैनिक हिँड्ने बाटोसमेत राम्रोसँग निर्माण नगर्दा स्थानीय निर्माण व्यवसायीको समेत बदनाम हुँदै आएको छ। दैनिक यो बाटो हिँड्ने यात्रुहरुले हिँडेर जाँदा दुख भएको, धुलो धुवाले गर्दा समस्य भएको भन्दै ठेक्काको जिम्मेवारी लिने ठेकेदारलाई गालीको वर्षा दिने गरेका छन्। वर्षायाममा दुइ पांग्रे यातायातका साधनहरु नै नचल्ने यो सडकलाई राजनीतिक दलले प्रत्येक पाँच वर्षमा आउने चुनावमा भने चुनावी एजेण्डा बनाउने गरेका छन्।

क्षेत्र नम्वर १ मा पर्ने यो भाग सदरमुकामबाट उत्तरपुर्वी क्षेत्र जोड्नका साथै जुम्ला जोड्का लागि उपयुक्त मार्गका रुपमा रहेको छ। यही सडकबाट कुशे गाउँपालिकाबाट जुम्लाको इमिचाबारी जोड्नका लागि सुरुङ निर्माण गर्न सम्भव्यता अध्ययनको काम भइरहेको प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए।

१४ वर्षसम्म पनि यातायात सञ्चालन नहुने सडक निर्माण गरेर रमिता देखाएको भन्दै नेतादेखि सरोकार राख्ने सबैको भारी आलोचना हुँदै आएको छ। यो खण्डको गारा राङसी, रिसाङखोला र बहुना थानानजिकै यातायातका साधनहरु चल्ने सक्ने अवस्था छैन।

ट्याक खोल्दा गलत तरिकाले घर,घरमा लिँदा यो सडकमा यातायातका साधनहरु चल्न नसकेका हुन्। सदरमुकाम शान्ति चौताराबाट पाँचकाटियासम्म २०७१ सालमा खड्का कृष्ण कन्टक्सनले २ करोड खर्चेर सडक खनेको थियो। त्योभन्दा पछाडि पिके निर्माण सेवा, यति बिल्डर्सदेखि अन्य निर्माण सेवा गरी ५ वटा निर्माण व्यवसायीले काम गरिसकेको पाइएको छ।

४० करोडभन्दा बढी यही सडकमा लगानी भएको सडक डिभिजन चौरजहारीले जनाएको छ। यो आर्थिक वर्षमा मात्र ५ वटा ठेक्काहरू भए पनि अहिलेसम्म कामको सुरुवात गरिएको छैन।

यो सडक खण्डको भेरी नगरपालिका –२ को दारखोला स्थित पावर हाउसदेखि दारागाउँको सडक निर्माण गर्दा कतै पनि ग्रेट नमिलाएर सडक खन्दा समस्या हुँदै आएको छ। सडक प्रभावकारी रुपमा निर्माण नभएकै अवस्थामा पनि इन्जिनियर र निर्माण व्यवसायीको मिलेमत्तोमा काम सदर गर्दा वर्षेनी समस्य हुँदै आएको हो।

त्यस्तै वडा नम्वर २ कै गाराराङसी देखि नाउलीसम्म पूरै ग्रेट गलत गरिकाले खनिएका कारण वर्षेनी करोडौँ रकम खेर जाने गरेको छ।

तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको रेखाकंनलाई आधार नमान्दा स्वार्थ समूहका कारण जथाभावी सडक खन्दा अहिलेसम्म जति लगानी गरे पनि यातायातका साधनहरु चल्न नसकेका हुन्। नक्साकंन नबदल्दा सम्मा यो सडकमा जतीसुकै लगानी गरेपनि यातायात सञ्चालन हुन नसक्ने स्थानीयबासी बताउँछन्।

 कुशे गाउँपालिका र भेरी नगरपालिकाको बीचमा रहेको पाँचकाटियाबाट किटेनी हुँदै नेटीलेखसम्म विश्वबैंकले झण्डै ३६ करोडमा निर्माण गर्ने तयारी थालेको छ। तर सदरमुकामबाटै सडक निर्माण गर्ने सामग्रीहरु लिनका लागि प्रभावकारी बाटो नहुँदा मुस्किल हुँदै गएको छ।

सडक डिभिजनका अनुसार यो सडकमा अर्बभन्दा बढी लगानी भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.