|

धुलिखेल : काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्।

दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए।

केयूका उपकुलपति प्रा.डा. भोला थापाले दीक्षान्तमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी दीक्षित भएको जानकारी दिए।

उनका अनुसार २८ औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रममा स्कुल अफ साइन्स, इन्जिनियरिङ, शिक्षा, म्यानेजमेन्ट, मानविकी संकाय, कानुन र मेडिकल साइन्सेज विधाका विभिन्न कार्यक्रममा अध्ययन पूरा गरेका दीक्षित भएका हुन्।

तीमध्ये मानविकी संकायका २२० जना, शिक्षाका २०२, इन्जिनियरिङका २६, कानुनका ४०, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी छन्।

उक्त दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीमा पुरुषभन्दा महिला बढी छन्। महिला ५६.८० प्रतिशत अर्थात् ९६५ जना र पुरुष ४३.२० प्रतिशत अर्थात् ७३४ जना छन्।

दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीमा अष्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, मालदिभ्स, पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना अर्थात् १०.९५ प्रतिशत रहेका छन्। हालसम्म ४० हजार ३८ जना विद्यार्थी दीक्षित भइसकेको केयूले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.