|

काठमाडौँ : शुक्रबारदेखि बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले प्रदर्शन थालेको छ। पहिलो भाग प्रदर्शनमा आएको १३ वर्षपछि अवतारको दोस्रो भाग प्रदर्शनमा आएको हो। 

जेम्स क्यामरुनको लेखन तथा निर्देशन रहेको फिल्मले यतिवेला मल्टिप्लेक्समा ९० देखि शतप्रतिशतसम्म शो पाएको छ। एक्सन, एडभेन्चर, फेन्टासी जनरामा बनेको फिल्ममा दर्शकको चाप पनि उच्च देखिएको छ। शुक्रबार बिहानका अधिकांश शो हाउसफुल रहेका थिए भने बाँकी हलमा ८० प्रतिशतभन्दा बढी भरिभराउ थिए।

सुरुवाती शो हेरेका दर्शकले फिल्म उत्साहजनक भएको प्रतिक्रिया दिएका छन्। खासगरी यसको भिएफएक्स र सिजिआई विश्व सिनेमाकै लागि उदाहरणीय रहेको बताइएको छ। फिल्ममा साम वर्थिङ्टन, जोइ साल्डाना, सिगोर्नी वेभर, स्टेफन लङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

यसअघि सन २००९ मा प्रदर्शनमा आएको अवतार विश्वभर सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। जुन कीर्तिमान अझै पनि उसकै नाममा छ। सन् १९९७ मा क्यामरुनकै लेखन तथा निर्देशनमा बनेको टाइटनिकको कीर्तिमान अवतारले तोडेको थियो। अब अवतारको कीर्तिमान अवतार २ ले तोड्ने अनुमान गरिएको छ।

यद्यपि फिल्मले अपेक्षाकृत शुरुवात भने पाउन सकेको छैन। जसको एउटा कारण कतारमा जारी विश्वकपलाई मानिएको छ तर अबको तीन दिनभित्र विश्वकप सकिने र नजिकै रहेका क्रिसमस र अंग्रेजी नयाँ वर्षका कारण फिल्मको व्यापारमा दोस्रो हप्तादेखि उछाल आउने अनुमान गरिएको छ। 

त्यस्तै शुक्रबारदेखि नै नेपाली फिल्म महापुरुष सात हप्ता पार गरेर आठौँ हप्तामा प्रवेश गरेको छ। १० करोडमाथिको कमाइ गरेको फिल्म ५१ दिन नजिकै रहेको छ। यसअघि यो वर्ष हलमा ५१ दिन कबड्डी ४ ले मात्र पार गरेको थियो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.