|

काठमाडौं :  निर्वाचनको अन्तिम परिणाम आएसँगै दलहरू  सरकार गठनको दौडमा लागेका छन्। कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले दलहरू सबैसँग छलफलमा छन्। 

सत्ता गठबन्धनमै रहेका दल पनि बाहिरका दलसँग छलफलमा रहेकाले सरकार कसको नेतृत्वमा बन्छ भन्ने विषय अनुमान गर्न कठिन भएको छ। संघमा सरकार गठनका लागि नेपाली कांग्रेस ठूलो दल र गठबन्धनको नेतृत्वकर्ता भएकाले उसले बहुमत पुर्‍याउन कसरत गरिरहेको छ।

तर, गठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफू प्रधानमन्त्री बन्न लागेको अभिव्यक्ति दिइरहेका छन्।

पछिल्लो समय एमालेसँग पनि माओवादी केन्द्रको संवाद बाक्लिएको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले प्रस्ताव गरेको समाचार पनि बाहिरिएका छन्।

खास अहिले नेकपा एमाले सरकार गठनका मामिलामा कहाँ छ? उसको भावी रणनीति के हो? भन्ने विषयको सेरोफेरोमा हामीले एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन लागेको हो? 

समाचार बाहिरिएका छन्। तर, एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको छैन। उहाँहरू सबैतिर कुराकानी अगाडि बढाइरहनु भएको छ। अहिलेसम्म हामी कुनै निष्कर्षमा पुगेका छैनौं। अहिले औपचारिक रुपमा पाँच दलीय गठबन्धनको घनीभूत रुपमा औपचारिक कुराकानीहरू भइरहेको छ। 

संख्याको हिसाबले एमालेलाई भन्दा कांग्रेसलाई सरकार बनाउन अलि सजिलो अवस्था छ। यसले गर्दा उहाँहरूको कसरत बढी रहेको छ। अहिले सम्भावना पाँच दलीय गठबन्धनको देखिएको छ।

तर, उहाँहरूको बीचमा भागबण्डा मिल्छ कि मिल्दैन भन्ने कुरा टुंगो लागेको छैन। यो जटिल पक्रिया छ। यसमा उहाँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ, त्यसमा भर पर्छ। यदि त्यसमा उहाँहरू सहमत भएर गए उहाँहरूको सम्भावना रहेको छ। यदि भागवण्डा मिलेन भने समानुपातिक तर्फ एमालेले पाएको पपुलर मतका आधारमा पनि एमालेले नेतृत्वका लागि भूमिका लिनुपर्छ। 

एमालेको नेतृत्वमा कम्युनिष्टहरूको मात्र बहुमत नपुग्ने हुनाले वामपन्थी विचारधारा भएका र अहिलेको यथास्थितिलाई परिवर्तन गर्न चाहने विचार भएका पार्टीहरू मिलाएर सरकार बनाउनु पर्ने हुन्छ। यस विषयमा वार्ताहरू भइरहेका छन्। 

भनेपछि एमाले गठबन्धन के गर्छ भनेर ‘पर्ख र हेर’ को अवस्थामा हो ? 

हामीलाई बहुमत पुर्‍याउन अलि गाह्रो रहेको छ। काँग्रेसलाई अलि सहज रहेको छ। सरकार अहिले पनि उहाँहरूकै रहेको छ। जो प्रधानमन्त्री भए पनि बहुमत बिना सम्भव छैन।

ठूलो दल भएकाले कांग्रेसले दावा गर्ने सुविधा पनि रहेको छ। त्यो सुविधा एमालेलाई छैन। त्यसो भएको कारण कांग्रेस अगाडि कसरी बढ्छ त्यो हामी हेर्छौं। कांग्रेस सफल नभएको अवस्थामा परिस्थिति कसरी विकास हुन्छ भन्ने कुराले एमालेले पाइला चाल्ने कुरा हुन्छ। 

एमाले सरकार गठनकाे रेसमा सहभागी हुनुपर्दा नेतृत्व नै बटमलाइन हो कि अरूलाई पनि सघाउन सक्छ? 

मेरो व्यक्तिगत कुरा गर्ने हो भने नेतृत्व एमालेकै हुनुपर्छ। तर, अर्काको नेतृत्वमा सरकारमा एमाले जान हुँदैन। सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्छ।

यदि सरकार निर्माण गर्नुपरे एमाले आफैले नेतृत्व लिनुपर्छ। अरूको नेतृत्वलाई समर्थन गर्ने होइन। कसैलाई काँध हालेर सरकारको नेतृत्वमा पुर्‍याउने काममा एमाले लाग्दैन। 

यसका धेरै कारण छन्। म अहिले त्यता जान चाहन्न। 

तर प्रचण्डले अहिले प्रधानमन्त्री बन्छु भन्ने अभिव्यक्ति एमालेको ग्रीन सिग्नलपछि आएको चर्चा छ नि ?

प्रचण्डजीले भाषण गरिरहनु भएको छ। उता गठबन्धनबाट पनि प्रधानमन्त्री आलोपालो भन्ने होला। तेस्रो पार्टी भएकोले कसरत स्वभाविक पनि होला। म मेरो कुरामा के स्पष्ट छु भने,कि कांग्रेसले स्पष्ट बहुमत जुटाएर सरकार चलाओस्। कि एमालेको नेतृत्व हुनुपर्छ। तेस्रो दल त साह्रै तल रहेकाले उसको नेतृत्वमा सरकार बन्दा टिक्न सक्दैन। मुलुकले अस्थिरता धेरै धान्न सक्दैन। 

कांग्रेस बाहेक एमालेले बहुमत पुर्‍याउने स्थिति हुन्छ त? 

कांग्रेसले साझा कार्यक्रम ल्याएर अन्य सत्ता घटकलाई मिलाएर पाँच वर्ष सरकार चलाओस्। प्रधानमन्त्री फेरिरहने बन्द होस्। सत्ता पक्षको प्रयास असफल भयो भने एमालेले कसरत गर्छ। त्यसमा वामपन्थी सबैलाई समेट्नुपर्छ।

भनेपछि साझा कार्यक्रम ल्याए कांग्रेससँग एमाले पनि मिल्न तयार हो

कांग्रेस र एमाले मिले पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने मेरो मान्यता हो। यसका लागि कांग्रेस तयार छ कि छैन? कुरा मुख्य यो हो। कांग्रेसको नेतृत्वमा एमाले खुत्रुके मन्त्री भएर बस्ने कुरा सम्भव छैन। 

वामपन्थीलाई जोड दिइरहनुभएको छ, त्यसभित्र माधव नेपाल पर्नुहुन्छ ?

वामपन्थी भनेपछि माधव नेपालजी स्वत: परिहाल्नुभयो नि ! 

अहिले प्रचण्डलाई प्रधानमन्त्री दिने अनि एमालेले आफूले राष्ट्रपति लिने भन्ने कोणबाट पनि चर्चा सुनिन्छ नि !

यो चर्चा नै बेकार हो। यो कल्पना मात्र हो। हरेकका व्यक्तिगत महत्वाकांक्षाका लागि राष्ट्रलाई दु:ख दिनुहुँदैन। छ छ महिनामा मन्त्री बदल्ने कुरा भनेको देशलाई अस्थिरताको भूमरीमा पुर्‍याउने खेल मात्र हो। 

एकातिर राजावादीहरूले राजा ल्याउनका लागि यहाँ खेल्ने, अर्को तिर विदेशी शक्तिले  नेपालको राजनीति आफ्नो पक्षमा राख्न प्रयोग गर्ने स्थिति आउन सक्छ। त्यो खतरा छ नि ! 

तीन चार जना राजावादी (राप्रपाका उम्मेदवार) त तपाईंहरूले नै जिताएर ल्याएको होइन? आफैंले जिताएर ल्याएकासँग किन डराउने ?

तालमेल गर्दा खेरी एमालेले आफ्नो हितका लागि तालमेल गरेको हो। खासमा हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो। उसँग प्रतिस्पर्धा साना दलसँग तालमेल संसारको जहाँ पनि हुने कुरा हो।

तर, सरकार बनाउने कुरा अर्को हो। चुनावमा जसरी गयो, त्यसरी नै सरकारमा जानुपर्छ भन्ने हुँदैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.