|

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा शुरु गरेको छ। यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँचजनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए। 

नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्‍याउने उद्देश्यले पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याएको उनले बताए।

‘नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ, पाँच जनासम्म परिवार सङ्ख्या भएका सबै नागरिकलाई बिमाबापतको रु तीन हजार पाँच सय प्रिमियम रकमसमेत नगरपालिकाले व्यहोर्ने छ’, उनले भने, ‘बाबुआमा नभएका /र ज्येष्ठ नागरिकप्रति आश्रित रहेका टुहुरा नाबालकको पनि सबैको स्वास्थ्य बिमाको प्रिमियम रकम नगरपालिकाले नै व्यहोर्ने छ।’

७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै एक लाखसम्मको स्वास्थ्य बिमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको उनले बताए। श्रेष्ठले यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निर्णयलगत्तै कार्यान्वयनमा ल्याएको बताए।

शुक्रबार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बागमती प्रदेश बिमा बोर्डका पदाधिकारीसहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम यस्तो निर्णय गर्दै निर्णय कार्यान्वयनमा ल्याएको हो। परिवारमा पाँच जनाभन्दा बढी संख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दामाथि प्रतिव्यक्ति ७०० बिमाबापतको रकम भने परिवारले नै व्यहोर्नु पर्नेछ। 

प्रमुख श्रेष्ठले कुनै पनि नागरिकले पैसा नभएकै कारण स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा र उपचार सेवा सुरु गरेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.