|
फाइल फोटो

सुर्खेत : निर्वाचत आयोगले आफ्नो प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ। दलहरु विभिन्न छलफलमा जुटेको बेला कर्णालीमा नेकपा ( माओवादी केन्द्र)ले नै मुख्यमन्त्री पाउनुपर्ने मागसहित केन्द्रीय कार्यालयलाई पत्र लेखेको छ।

अन्य प्रदेशभन्दा कर्णालीमा आफ्नो पार्टी बलियो भएको भन्दै मुख्यमन्त्री कुनै पनि हालतमा पाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ।

कर्णालीमा २०७४ सालको भन्दा यो पटकको चुनावमा माओवादीको पोजिसन राम्रो भएको जिकिर गर्दै पत्रमा भनिएको छ ,‘प्रदेश सरकार निर्माणको सन्दर्भमा हालै सम्पन्न निर्वाचनको परिणामअनुसार तुलनात्मक रुपले कर्णाली प्रदेशसभामा हाम्रो पार्टीको उपस्थिति बलियो रहेको गठबन्धनको निर्णयअनुसार प्रतिनिधि सभामा हामीले पाएको ५ सिटमध्ये ४ र प्रदेशसभामा पाएको १० सिटमध्ये ९ सिटमा हाम्रो पार्टीका उम्मेदवार विजयी भएको २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा पार्टीको समानुपातिक मत पनि वृद्धि भएको अवस्थामा यस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने।’

उसो त माओवादीले यो भन्दै गर्दा २०७४ मा प्रत्यक्षमा एक सिट जितेको कांग्रेसले योपटक ९ सिट जितेको छ। समानुपातिक र प्रत्यक्ष गरी १४ सिट जितेर पहिलो दल भएको कांग्रेसले कुनै हालतमा पनि मुख्यमन्त्री कांग्रेसबाहेक अरूलाई दिन नसकिने भन्दै नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कामार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सन्देश पठाइसकेका छन्।

जाजरकोटका राजीवविक्रम शाह र हालमा मुख्यमन्त्री जीवनबहादुर शाही फेरि मुख्यमन्त्रीका लागि मैदानमा रहेका छन्। माओवादीभित्र मुख्यमन्त्रीका लागि पूर्वमन्त्री विन्दमान विष्ट र अर्का राजकुमार शर्मा भारी मिहिनेत गरिरहेका छन्।

विष्ट माओवादी नेता शक्तिबहादुर बस्नेत र शर्मा अर्थमन्त्री जर्नादन शर्माको नजिक रहेका छन्।

राजकुमार जनार्दन शर्माका सन्तानसमेत रहेका छन् र माओवादी कर्णाली प्रदेशका अध्यक्ष विमला केसीसमेत राजकुमारकै नजिकको नातादार भएकाले पनि मुख्यमन्त्री राजकुमारलाई बनाउने उद्देश्यसहित सबै खालको पावर प्रयोग गरिरहेको स्रोतले बताएको छ।

शक्ति बस्नेतको जिल्ला जाजरकोटमा प्रदेशको माननीय नै जिरो बनाएर सिस्टमबाट नै कोल्याप्स बनाएको केसी टिमले जुनसुकै हालतमा पनि सत्ता कब्‍जादेखि पार्टी नै कब्जा गर्ने रणनीतिमा रहेको माओवादी वृतमा चर्चा रहेको छ।

कतिपय असन्तुष्ट केन्द्रीय सदस्यले प्रदेश अध्यक्ष केसीलाई बेइमान, जालझेल गरेको भन्दै राजीनामा समेत मागेका छन्। जसरी पनि आफ्नो हालिमुहाली गर्नका लागि अनेक षड्यन्त्र गरेर भए पनि मुख्यमन्त्री राजकुमारलाई बनाएर विन्दमान विष्टलाई जुनियर भन्दै पाखा लगाउने उद्देश्यसहित शर्मा टिम लागेको चर्चा माओवादीभित्र रहेको छ।
उत्ता, उपमहासचिव बस्नेत पार्टीभित्र गुट निर्माणभन्दा पनि जसले जे भने पनि हुन्छ भनेर स्वीकार गर्ने नेताको छवि बन्दै गएको एकथरी नेताले आरोप लगाएका छन्।

आफन्तलाई मुख्यमन्त्री बनाउनका लागि केसीले केही व्यक्तिलाई मात्र बैठकमा बोलाएर कर्णाली पार्टीको निर्णय भन्दै अध्यक्षलाई ध्यानाकर्षणपत्र पठाएको केही केन्द्रीय सदस्यको आरोप छ।

बैठकमा निर्णय हेर्दा आक्रोशसमेत देखिने खालको रहेको छ। केपी ओली प्रवृत्तिभन्दा बाहिर गएर मात्र एकता र सहकार्य गर्नुपर्ने सुझावमा उल्लेख छ। अध्यक्ष प्रचण्डलाई पठाएको पत्रमा यस्तो उल्लेख छ।

पार्टी निर्माणको सन्दर्भमा यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी विचार संश्लेषण र समाजवादी कान्तिको ठोस कार्यक्रम तय गर्नुपर्ने, वैचारिक राजनैतिक तथा पार्टी पुनर्गठनको अभियान संचालन गर्नुपर्ने पार्टी तथा जनसंगठनका सबै तहका कमिटीको आकार घटाएर साना र चुस्त कमिटी बनाउनुपर्ने, नेतृत्व चयन र कमिटी निर्माण गर्दा निर्वाचन प्रणालीको अभ्यासलाई निरुत्साहित गर्न नहुने। पार्टीको विधानलाई कडाइका साथ पालना गर्नुपर्ने।

कम्तिमा माओवादी धाराका कम्युनिष्ट पार्टीहरुबिच पार्टी एकताको लागि सार्थक पहल गर्नुपर्ने केपी ओली प्रवृत्ति बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु विच पनि पार्टी एकताको पहल गर्नुपर्ने। ५। हालैको निर्वाचनमा यस प्रदेशको दैलेख जिल्ला जनप्रतिनिधि विहीन भएकोले कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्ने।

संघ, प्रदेश र स्थानीय स्तरमा हाम्रो पार्टीको सत्ता संचालन निर्देशक समिति गठन गरी परिचालन गर्नुपर्ने।

यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने, गठबन्धन सरकार बन्ने अवस्थामा संघ, प्रदेश र स्थानीय तहमा सत्ता संचालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.