|

काठमाडाैं : सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्न नेपाल मानव अधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ। मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ (१८–२१ डिसेम्बर ) सम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन, लाइभ सांगीतिक कार्यक्रमसहित राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्ने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्परेचर्स, टप अफ द वर्ल्ड’ देखाइनेछ।

महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ। विश्वभरिबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित  २५ देशका ६४ वटा चलचित्रहरू यस महोत्सवमा देखाइनेछ।

यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अविनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर  र इजरायलबाट  लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन्।

महोत्सवमा प्रर्दशन गरिने ४ विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिनेछ। महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिनेछ।

महोत्सवमा ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ। मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन्।

महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरूसँग प्यानल छलफल पनि  राखिएको छ।

महोत्सवमा प्रत्येक दिन चलचित्रहरू प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरूबीच चलचित्र र मानव अधिकारको विषयमा अन्तरक्रिया पनि गरिनेछ। महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहनेछ।

महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेशनल कमिसन अफ ज्युरिस्ट’ आइओएमलगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ। महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र रिपोर्टर्स क्लबको सहकार्य रहेको छ।  

यो महोत्सव चलचित्रकर्मी र मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूका लागि चलचित्रको माध्यमबाट छलफल तथा अन्तरक्रिया गर्ने महत्वपूर्ण मञ्च रहेको महोत्सवका निर्देशक पाण्डव खत्री बताउँछन्।

उनी भन्छन्, ‘यस्ता चलचित्र महोत्सवले फिल्म हेर्ने दर्शक बढाउने काम गरिरहेका छन्। विदेशी फिल्म कसरी निर्माण भइरहका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनय, त्यसको खिचाइ कस्ता छन् भन्ने कुराबाट युवा पुस्ताका फिल्ममेकरले अनुभव गर्न पाउनेछन्। यस्ता खालका महोत्सवबाट नेपाली कला, संस्कृतिको साथै नेपालको अन्तरराष्ट्रिय छवि निर्माणमा समेत सहयोग पु‍र्‍याउने विश्वास लिएका छौं।’

यो महोत्सव चलचित्रकर्मीहरूका लागि आफ्नाे क्षमता प्रदर्शन गर्नसमेत एउटा महत्वपूर्ण स्थान हुने उनको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.