|
प्रतीकात्मक तस्विर

कावासोती : पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिन थालेको छ। 

सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका काटिएको तीन हजार ८३१ रुख घाटगददीमा राखिएका थिए। ती काठ दाउरा कुहिएर काम नलाग्ने अवस्थामा पुगेका हुन् । 

जिल्लाको सिख्रौली, शिसवार, र लामिचौर उपभोक्ता समितिअन्तर्गतका पाँच  मध्यवर्ती वनमा काठ दाउरा करिब तीन वर्षअघि काटेर राखिए पनि सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती–१२ मा रहेको राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए। ‘सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुञ्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन्’, उनले भने।

चितवन राष्ट्रिय निकुञ्जले प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजनाको कावासोती कार्यालयका आयोजना व्यवस्थापक राकेश झाले बताए। 

‘हामीले सुरक्षा गार्डसहित काठ र दाउरा सामुदायिक वनमा घाट गददीमा राखेका छौँ, सामुदायिक वनलाई हस्तान्तरण गर्न पटकपटक निकुञ्ज कार्यालयमा पत्रचार गरेका छौँ, वितरण कसरी गर्ने कहिले गर्ने यो निकुञ्जको जिम्मा हो’, उनले भने।

लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले सडक आयोजना विस्तारको क्रममा निर्माण कम्पनी, चितवन राष्ट्रिय निकुञ्ज र उपभोक्ता समितिसहितको बैठकले काटिएका रुखबाट निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको बताए।

सामुदायिक वनमार्फत उपभोक्तालाई काठ दाउरा वितरणका लागि पहल गरिरहेको  उनले बताए। केही प्रक्रिया गत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुञ्ज कार्यालयबाट आफूले जानकारी पाएको उनको भनाइ छ। 

राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएका कारण वितरणको काम रोकिएको भन्दै पुनः लगत संकलन सुरु गरिएको जानकारी दिए। 

निर्माण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका संकेत मेटिएकाले फेरि लगत संकलन गरिएको उनको भनाइछ। लगत संकलनको काम अन्तिम चरणमा पुगेकाले निकुञ्ज कार्यालयमा अन्तिम प्रतिवेदन आउनासाथ हस्तान्तरण गर्ने तिवारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.