|

काठमाडौं : शुक्रबार प्रदर्शनमा आएको बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ। सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ को कथालाई निरन्तरता दिँदै ‘अवतार-२’ बनाइएको हो। 

फिल्म प्रदर्शनमा आउनुअघि ‘अवतार-२’ ले बक्स अफिसमा पहिलो ‘अवतार’ फिल्कोम बनाएको कीर्तिमान तोड्ने अनुमान गरिएको थियो। फिल्मले ४ दिनमा ४ सय ४० मिलियन (४४ करोड) अमेरिकी डलरभन्दा माथिको कमाइ गर्दै यो वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दशौँ नम्बरमा आएको छ। 

१३ वर्षअघि प्रदर्शनमा आएको ‘अवतार’ले २ दशमलव ७ बिलियन (२ अर्ब ७० करोड) अमेरिकी डलर कमाउँदै विश्व सिनेमाको इतिहासमै सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। जुन कीर्तिमान यथावत नै छ।

त्यसअघि सन् १९९७ मा क्यामरुनकै निर्देशनमा बनेको ‘टाइटनिक’को कीर्तिमान ‘अवतार’ले तोडेको थियो। जसकारण ‘अवतार-२’ ले अवतारको कीर्तिमान तोड्ने अनुमान गरिएको थियो।

झण्डै ४ सय मिलियन (४० करोड) अमेरिकी डलर बजेट रहेको फिल्मको शुरुवाती बक्स अफिसमा फुटबल विश्वकपको प्रभाव परेको पनि बताइएको छ। जसकारण फिल्मले अपेक्षित शुरुवात गर्न सकेन तर नजिकिँदै गरेको क्रिसमस र अंग्रेजी नयाँ वर्षले फिल्मको कमाइमा उछाल ल्याउन सक्ने अनुमान भने गरिएको छ। 

फिल्ममा के छ?

एक्सन, एडभेन्चर, फेन्टासी जनरामा बनेको फिल्ममा बाहिरी ग्रह प्यान्डोरा र त्यहाँ बस्ने मानिस जस्तै देखिने प्राणीको कथा भनिएको छ। पहिलो भागमा खनिज उत्खननका लागि पृथ्वीका मानिस प्याण्डोरा पुगेपछि त्यहाँका प्राणीहरूले आफ्नो वासस्थान जोगाउन गरेको संघर्ष देखाइएको थियो। ‘अवतार-२’ मा पनि प्याण्डोराका तिनै प्राणी र पृथ्वीका मानिसबीचको युद्ध देखाइएको छ। 

अवतारको मुख्य पात्र जेक नेटिरीसँग विवाह गरेर प्याण्डोरामै बस्न थालेको धेरै वर्षपछिको कथा फिल्ममा देखाइएको छ। जहाँ जेक र नेटिरीका छोराछोरी पनि ठूला भइसकेका छन्।

आफ्नो परिवारको सुरक्षाका लागि बसाइ सरेको जेकको कथा ‘अवतार-२’ मा समेटिएको छ। यसपछि आउने तेस्रो, चौथो र पाँचौं भागमा पनि यही कथाले निरन्तरता पाउनेछ। 

फिल्ममा प्रयोग गरिएको भिजुअल इफेक्टको विश्वभरि नै खुलेर तारिफ भइरहेको छ। दोस्रो भागका लागि १३ वर्ष कुर्नुपरे पनि यो पर्खाइ सार्थक बनेको चलचित्रप्रेमीहरूको भनाइ छ। साथै फिल्ममा प्रयोग भएका भिएफएक्स, सिजिआई अहिलेको समयका सबै निर्माता, निर्देशकहरूका लागि पाठ्यक्रम समान रहेको पनि बताइएको छ। 

फिल्मको झण्डै आधा कथा पानीसँग जोडिएकाले कलाकारहरूलाई पानीभित्र रहन महिनौँ अभ्यास गराइएको थियो। ‘अवतार-२’ सँगै यसको तेस्रो भागको पनि काम शुरु गरिसकिएको छ। जुन सन् २०२४ को डिसेम्बरमा आउनेछ। त्यसपछि चौथो र पाँचौं भाग पनि क्रमशः सन् २०२६ र सन् २०२८ मा ल्याउने तयारीमा क्यामरुन छन्। 

समीक्षा र शुरुवाती बक्स अफिस कलेक्सन हेर्दा ‘अवतार-२’ सफल फिल्मको सूचीमा आइसकेको छ। तर बक्स अफिसमा नयाँ कीर्तिमान बनाउने निर्देशकको रुपमा चिनिने क्यामरुन र ऐतिहासिक कमाइ गरेको ‘अवतार’को अहिले आएको दोस्रो भागले अघिल्लो फिल्मको कीर्तिमान तोड्छ कि तोड्दैन त्यो भने हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.