|

कास्की :  गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा  र  भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ। शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन्।

भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको छ। ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन्। सपरिवारसहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफू लालयित भएको अभिव्यक्ति दिए। गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धनमा भारतीय सिनेमामार्फत हुन सक्ने सहयोग आफूले गर्ने बताए।

मन्त्री थापासँगको भेटमा उनले भने, 'हजारौँ वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ। म नेपालमा आउन पाउँदा एकदमै खुसी छु। किनकि नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ। नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो। प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमामार्फत हुन सक्ने सहयोग गरिनेछ।'

मन्त्री थापाले सिनेमामार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मद्धत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए। गण्डकी प्रदेश सिनेमा छायांकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमामार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनको छ।

मन्त्री थापाले नेपालमा छायांकन गरिएको भारतीय सिनेमा उचाइलाई राम्रो सफलता मिलेको बताए। उनले नेपालमा छायांकन गरिएका भारतीय सिनेमाहरूले समेत राम्रो सफलता प्राप्त गर्दा खुसी लागेको अभिव्यक्ति दिए।

'सिनेमा छायांकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो।  नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु। यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरू बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ। नेपालमा छायांकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुसी लागेको छ', उनले भने।

प्रदेश सरकार बाह्य मुलुकबाट सिनेमा छायांकनका लागि आउने कलाकर्मीहरूलाई स्वागत गर्न सदैव तत्पर रहेको अभिव्यक्ति उनको थियो। भेटमा मन्त्री थापाले ओवरायलाई मायाको चिनोस्वरूप नेपालको पहिचान  झल्किाउने ढाका टोपी र खुकुरी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.