|

काठमाडौं : केही वर्षअगाडि काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउने महत्वपूर्ण भूमिकामा थिए- सिताराम हाछेथु। ३० वर्ष नेपाल प्रहरीमा सेवा गरी अवकाश पाएका हाछेथु यतिवेला ललितपुर नगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा छन्। 

ललितपुर महानगरपालिका उपत्यकाको अन्य नगरपालिकाको तुलनामा व्यवस्थित मानिन्छ। फुटपाथ व्यवस्थापनदेखि साँस्कृतिक शहरको रुपमा यस नगरपालिकालाई चिनिन्छ। नगर प्रहरी जनता अर्थात नगरवासीको सेवाका लागि गठन गरिएको संगठन हो। नियमविपरीत गर्न नदिने र त्यस्ता काम गर्नेलाई कानुनको दायरामा ल्याउन गठन गरिएको संस्था हो। त्यसो भन्दैमा कारवाही मात्र गर्ने भन्ने होइन। पहिले कुरा त जनताको समस्याअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ। नियम बनाई व्यवस्थापन गर्ने हो। 

नगर प्रहरीको काम चुनौतीपूर्ण 

ट्राफिक प्रहरीभन्दा नगर प्रहरीको काम चुनौतीपूर्ण छ। ट्राफिक जनचेतना, जाम, सवारी दुर्घटना जहाँ हुन्छ त्यहीँ मात्र ट्राफिक प्रहरी पुगे भइहाल्छ। तर नगर प्रहरीले फुटपाथ, सवारी पार्किङ र ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था, जात्रा पर्वजस्ता धेरै काम गर्नुपर्ने हुन्छ। प्रमुख तरकारी उठाउने र फुटपाथ हटाउने कामकै कारण नगर प्रहरी जनताको साथी नभएर दुश्मनजस्ताे बनेको थियो। त्यसलाई परिवर्तन गर्न म नगर प्रहरीको रुपमा आएसँगै निरन्तर काम गरिरहेको छु।

नगर प्रहरी व्यवस्थापन गर्ने संगठन हो 

बिना तलब र कुनै दिन पनि छुट्टी नलिई उनी ललितपुर नगरपालिकाभित्रका विभिन्न समस्या समाधान गर्न लागि परेका छन्। यतिवेला नगर प्रहरी भनेको फुटपाथका पसल हटाउने र सडकमा डुल्ने भन्ने धारणाको विकास भएको छ तर यो सोच गलत हो। नगर प्रहरीको काम यतिमात्र होइन र हुनु पनि हुँदैन।  

नगर प्रहरी भनेको नगरवासीको अभिभावक बन्न सक्नु पर्छ। म नगरवासीको हरेक समस्या समाधान गर्ने साथी हो भन्ने कुरा देखाउने पक्षमा छु। ललितपुर नगर प्रहरीको कामबाट अरू नगरका प्रहरीहरू पनि प्रभावित होऊन् भनेर ट्राफिक व्यवस्थापन, शहरको सौन्दर्य बढाउने, सामाजिक सेवा भावका कामलगायत विभिन्न काम गरेर नगरवासीमा नगर प्रहरीको सोच बदलिरहेका छन्। जुत्ता सिलाउनेदेखि तरकारी बेच्चेसम्म सबैलाई व्यवस्थापन गरेको छ। जसले व्यापारीको जीविकोपार्जनमा सहज हुन्छ भने कम मूल्यमा किन्न खोज्नेले सहज रुपमा सामान किन्न सक्छन्।  

व्यापार गर्न टाइम कार्ड

ललितपुर नगरपालिकाले फुटपाथमा जथाभाबी सामान बेच्न दिएको छैन तर त्यसलाई व्यवस्थित गर्न टाइम कार्डको व्यवस्थापन गरेको छ। कम आयस्रोत भएका र सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने नागरिकलाई व्यवस्थापन गर्न‚ सहज बनाउन निश्चित स्थान,समय तोकी व्यापार गर्न दिइएको छ। सडक पेटीबाट सामान नियन्त्रणमा लिए पनि सम्झाएर सम्बन्धित व्यापारीलाई नै फिर्ता दिँदै आएको छ।

ललितपुर महानगरले कुन समय र कुन–कुन स्थानमा फुटपाथ व्यापार गर्न दिने टुंगो लगाएको छ। मुख्य चोकहरू पुल्चोक, लगनखेल, इतिटोल, कुपन्डोल, सातदोबाटो, सुन्धारा, नख्खु, एकान्त कुनालगायत क्षेत्रमा खुला ठाउँ हेरी व्यवसाय गर्न दिएको छ। महानगरभित्र बिहान ८ बजेसम्म र बेलुकी ५ बजेपछि मात्रै व्यापार गर्ने समय ललितपुरले तोकेको छ। फुटपाथ र सडक व्यापारीलाई नै लक्षित गरी लगनखेलको इतिटोलमा खुला बजार सञ्चालनको तयारीसमेत भइरहेको छ।

सम्मान पाउन सम्मान गर्न पनि जान्नु पर्छ

यति वेला काठमाडौं महानगरपालिकाका सइले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएको विषय सार्वजनिक भएको छ। त्यसमा कति सत्यता छ त्यो अनुसन्धानले देखाउला। तर हाम्रो नगरपालिकामा त्यस्ता समस्या आएका छैनन्। ललितपुरमा ७८ जना नगर प्रहरी छन्। तिनको प्रमुखको रुपमा म छु। अझ भनौं तिनीहरूको अभिभावक म हुँ। 

तिनका समस्या समाधान गर्ने मेरो जिम्मेवारी हो। माया, सम्मान पाउन आफूले पनि अरुलाई माया, सम्मान दिन जान्नु पर्छ। मैले अहिलेसम्म नगर प्रहरीलाई ‘तिमी’ शब्द प्रयोग गरेको छैन। मैले प्रहरीलाई जस्तो शब्द व्यवहार गर्‍यो‚ उनीहरूले पनि फिल्डमा त्यस्तै व्यवहार गर्छन्। त्यसैले गालीको सट्टा तपाईं भन्न सिकाएको छु। फुटपाथमा व्यापार गर्नेको सामान जफत गर्ने होइन‚ सम्झाएर पठाउने गरेका छौं। नगर प्रहरी आयो भाग्नुपर्छ भन्ने त्रासको अवस्था सिर्जना गर्नुको सट्टा सडकमा सामान राख्दा यात्रुलाई समस्या हुने कुरा बुझाएकाे छु। त्यसले परिवर्तन ल्याउन सहयोग गर्छ। 

फेरियो नगर प्रहरीलाई हेर्ने दृष्टि

नगर प्रमुखले लठ्ठी बोक्ने चलन हटाउने, पोशाक परिवर्तन, आर्थिक प्रलोभनको बाटोमा नलाग्ने, फुटपाथका व्यापारीसँग खानेकुरा नलिने, साइकल लेनको प्रयोग गर्ने चलनको विकास, राति गस्ती गर्ने, मठमन्दिरमा सरसफाइलगायत अन्य काममा नगर प्रहरीको संलग्नता रहेको छ। यससँगै रक्सीजन्य पदार्थका विज्ञापन, अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड हटाउने, कुपन्डोलदेखि कुमारीपाटीसम्म र एकान्तकुनादेखि जावलाखेलसम्मको फुटपाथलाई निषेधित क्षेत्र घोषणा गरेका छौं। 

जसमा कसैले पनि फुटपाथमा पसल वा कुनै सामान राख्न पाउने छैनन्। यसैगरी महानगरभित्र रहेका मठ मन्दिर तथा पाटी दिनको एउटा सफा गर्ने, महानगरभित्रका ९ वटा चोकमा ट्राफिक प्रहरीलाई सहयोग गर्न नगर प्रहरी परिचालन गरिएको छ। यी यस्ता कामलाई निरन्तरता दिँदा नगरवासीलाई नगर प्रहरी मेरो साथी हो भन्ने विश्वास दिलाउन हामी सफल भएका छौं। 

(ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुसँग थाहाखबरकर्मी सञ्जिता आचार्यसँग गरिएको कुराकानीमा आधारित)



 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.