|

कावासोती : पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययनरत छन्। उनीहरू कावासोती–३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।

नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताए।

‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए। एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका योपटक नै हो। यो आफैँमा दुर्लभ संयोग हो,’ दाहालले भने,‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ।’

जुम्ल्याहा जन्म आफैँमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन्। ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन‚ ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौँ’‚ दाहालले भने।

जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ। जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरूमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन्।

विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरूपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन्। तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरू विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेको उनले बताए। 

विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए। एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरू घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन्।

उनीहरू जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदीबहिनी छन्। दिदीबहिनी त्यसैमाथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरू र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरू सँग छ। 

जुम्ल्याहा सन्तान जन्मिँदा शुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने खुसी महसुस हुने  कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता ऋषिकान्त सापकोटा बताउँछन्।

जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुरा आवश्यक मात्रामा पुर्‍याएर शुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुरा मेल खाने भएकाले उनीहरूलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन्। ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरू बच्चाले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ,’ उनले भने।

उक्त विद्यालयले आफ्नो ३३ औँ वार्षिकोत्सवमा मङ्गलबार जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.