|

इलाम : वर्तमान संघीय सासंद एवम खोजकर्ता डा के आर खम्बु (कालुराम राई) ले केही वर्षअघि इलाम र पाँचथरको सिमावर्ती डाँडामा नयाँ प्रजातिको पाहा भ्यागुता फेला पारे। पाटेनागी डाँडोको गङ्गटेपानी भन्ने मूल पानीमा पाहा भेटिएको थियो। खम्बुको खोजपछि उभयचरको एक रैथाने प्रजाति जैविक विविधताको सूचीमा थपिन पुगेको थियो। मेची बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक खम्बुले उक्त पाहाको नाम पाटे औले टिकटिके पाहा (वैज्ञानिक नाम पा पाटेनागेन्सिस) राखे।

इलाम नगरपालिका, देउमाई नगरपालिका र फिदिम नगरपालिकाको संगम स्थल त्यसपछि अनुसन्धानको केन्द्रको रुपमा चर्चा हुन सुरु गरेको हो। आँखैअघि सगरमाथा, कञ्चनजंघालगायतका हिमाललाई देख्न सकिने पाटेनागीवाट सूर्योदय र प्रदेश–१ का धेरै जिल्लाहरू देख्न सकिन्छ। तीन हजार ५४ मिटरको उचाइमा अवस्थित यो क्षेत्रमा ठूलो चौर (नागी) रहेको छ।

हिमाली दृश्य र लेकाली जीवनशैलीमा रमाउन सकिने इलामको पाटेनागी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणले अहिले पर्यटकको आकर्षण बढेको छ। इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिर क्षेत्रमा पदमार्ग र पर्यटक बास बस्ने पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरूको आकर्षण बढेको हो।

इलाम नगरपालिकाले सडक पूर्वाधार विकासमा लगानी गरेसँगै नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा पदमार्ग निर्माण गरिएपछि अहिले आन्तरिक पर्यटकहरूको हाइकिङ गन्तव्य बनेको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का बताउँछन्। इलाम र देउमाई नगरपालिकाको सीमा बाघखोरबाट ७ किलोमिटरमा पुग्न सकिने पाटेनागीको उच्च भाग ३ हजार ४२ मिटरसम्म पदमार्गले जोडिएको छ।

पाटेनागी–कालपोखरी–चोयाटार–माईपोखरी पदमार्ग निर्माणको इलाम नगरपालिका ३ मा गरिएको छ। २० लाख ९४ हजारमा सम्झौता भएको आयोजनामा जीविकोपार्जन पुनःउत्थानका लागी दिगो पर्यटन परियोजनाले ९ लाख ५२ हजार र इलाम नगरपालिकाले ११ लाख ४२ हजार लगानी गरेका छन्।

आयोजनाबाट १ स्थानमा विश्रामस्थल निर्माण र १ हजार ६० मिटर लम्बाइ र १ दशमलव ५ मिटरको ढुङ्गा सोलिङको पदमार्ग निर्माण गरिएको इलाम नगर प्रमुख केदार थापाले बताए। 

उत्तरमा दर्जनौँ हिमशृंखला, टाढा–टाढाका गाउँ, सहर र वरपरका पर्यटकीयस्थल देखिन्छन्। हजारौँ रोपनीको खुला भूभाग रहेकाले पदमार्ग निर्माणपछि यहाँ रमाउन आउने पर्यटकको संख्या बढिरहेको हो। गुराँस, कटुस, क्यामुना, झिगाने, चुथ्रो, फलामे र अँगेरीका बुट्यान रहेको पाटेनागीको धेरै भाग चाहिँ खुला चौर छ।

पाटेनागी पुग्ने बेला भेटिने पहिलो गन्तव्य र आकर्षकस्थल हो कुइभिर। कुइभिर सयौं मिटर अग्लो चट्टानी भिर रहेको छ। कुइभिरबाट शुरु भएको पदमार्ग पाटेनागीको अग्लो स्थान लौहाकिलसम्म जोडिएको छ। कुइभिर पल्लोपट्टिको डाँडाबाट शिरदेखि पुछारसम्म नियाल्दा यो भिर हेर्न निकै आनन्द आउने गरेको र कुइभिरको डाँडासम्म पदमार्ग जोडिएकाले झनै सजिलो भएको इलाम नगरपालिका–३ का वडाध्यक्ष हेम बहादूर सुनुवार बताउँछन्। पुष माघको समयमा बाक्लो हिउँ पर्ने भएकाले यो क्षेत्रमा आन्तरिक पर्यटकहरू हिउँसंगै रमाउने गरेका छन्। 

इलाम नगरपालिकाले कुइभिर कटेर उकालो लागेपछि करिब ५० मिटर पर देउराली माथिसम्म सडक पु¥याइएको छ। यहाँसम्म हिउँदमा गाडी, मोटरसाइकल पुग्छन्। यहाँबाट चाहिँ करिब आधा घण्टा पैदल गएपछि पर्यटकीय डाँडो लोहाकिल पुगिन्छ र त्यहाँबाट करिब २० मिनेटमा पाटेनागी डाँडो पुग्न सकिन्छ।

लोहाकिल र पाटेनागी डाँडाबाट जता हे¥यो, त्यतै मनमोहक हिमश्रङ्खला देखिन्छ। ३ हजार ६ मिटर उचाईको लोहाकिल डाँडाबाट इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वीपहाडका दर्जनौं ठाउँ नजिकै देखिन्छन्। मौसम खुलेका बेला उहाँबाट दर्जनौं हिमाल र हिमशृंखलामात्र होइन, विश्वको सर्वोच्च शिखरसमेत देखिने गरेको सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले बताए। पाटेनागी र लोहाकिलबाट पारिपट्टि पौवाभञ्ज्याङ, सिलौटी र सुकेपोखरीजस्ता पर्यटकीयस्थलसमेत समेत देखिने तिमसिनाले बताए।

इलाम र पाँचथरको सीमामा पर्ने पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न दुवै जिल्लाले पूर्वाधार निर्माणको काम गर्दै आएका छन्। इलाम नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाटेनागीको पूर्वाधार विकास गर्दै आएको नगर उप–प्रमुख बिष्णु दाहालले बताइन्।

खुला चरिचरनका रूपमा रहेको पाटेनागी संरक्षणका लागि अहिले वन्यजन्तु, बोटबिरुवा र जडीबुटी संरक्षणको प्रयास भइरहेको पाटेनागी पर्यटन समिति डिल्लीप्रसाद राईले बताए। यहाँ दुर्लभ रेडपान्डा, बाँदर, बँदेल, थार, घोरल, भालुलगायत वन्यजन्तु पाइने उनले बताए। पर्यटककै लागि अलि तलका गाउँमा होमस्टेको व्यवस्था गर्ने तयारी हुँदैछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.