|

सल्यान : सल्यानमा वर्षेनी महको उत्पादन घट्दै गएको छ। महको मूल्य बढ्दै जाँदा उत्पादन भने वर्षेनी घट्दै जान थालेको छ। चरन क्षेत्र अभाव, बालीनालीमा विषादी प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण वर्षेनी महको उत्पादन घट्दै गएको किसानहरूको भनाई छ।

चरन क्षेत्रको अभाव हुँदै जानु र साउनमा लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको कालिमाटी गाउँपालिका-२ झिगानेका लोकेन्द्र वलीले बताए। चिउरी फुल्ने समयमा लगातार वर्षा हुँदा फूलको रस पानीले यस वर्ष महको उत्पादन धेरै घटेको उनको भनाई छ। उनले भने‚ ‘गत वर्ष ४ क्विन्टल मह उत्पादन भएको थियो तर यो वर्ष १ क्विन्टल ५० किलोमात्र मह उत्पादन भयो ।’

महको उत्पादन घट्दा मूल्य भने राम्रो पाइरहेको उनको भनाई छ। गत वर्ष प्रतिकिलो १ हजारदेखि १२ सयसम्म बिक्री भएको मह यस वर्ष १५ सय रुपैयाँसम्म बिक्री भएको उनको भनाई छ। कात्तिके मह औषधीय गुणयुक्त हुने भएकाले पनि कात्तिके महको माग बजारमा धेरै हुने गरेको वलीको भनाई छ।

त्रिवेणी गाउँपालिका-४ फलावाङ दीपबहादुर बुढाले यो वर्ष एक किलो पनि मह उत्पादन नभएको बताए। गत वर्ष १ सय ५० किलो मह उत्पादन गरेका बुढाले यो वर्ष भने अरिंगालले मौरी खाइदिँदा समस्या भएको बताए। उनले भने‚ ‘मसँग सयभन्दा बढी मौरीका घार थिए तर अरिंगालले सबै मौरी खाइदिँदा यो वर्ष महभन्दा पनि मौरी बचाउन गाह्रो भयो।’

मौरी पालनमा किसानको आकर्षण बढे पनि चरनलगायतका कारण महको उत्पादकत्व वर्षेनी घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। कति मह उत्पादन भयो भनेर डाटा संकलन भइरहेको बताउँदै कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले यो वर्ष विगतका वर्षको तुलनामा महको उत्पादन घटेको अनुमान गरिएको बताए।

असोजमा आएको अविरल वर्षाले चिउरीको फूलको सबै रस बगाउँदा र जलवायु परिवर्तनको प्रभावका कारण उत्पादनमा गिरावट आएको उनको भनाई छ। गत वर्ष सल्यानमा १५ मेट्रिक टन मह उत्पादन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.