|

काठमाडौँ: बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावको समीक्षा हुने क्रम जारी छ। भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकामा बाहेक अन्य स्थानको मत परिणाम लगभग आइसकेको छ। पहिलो पटक चुनाव भएका २८३ तहमध्ये ४६ तह हात पार्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

देशैभरको नतिजा हेर्दा ४६ तह हात पारे पनि उपत्यकामा भने माओवादी नराम्रोसँग पराजित भएको छ। माओवादी आन्दोलनकै कारण प्राप्त भएका भनिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता उपलब्धिबाट तुलनात्मक रूपमा गाउँभन्दा शहरका बासिन्दा लाभान्वित भएका छन्। पछिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र माअोवादी नेता जर्नादन शर्मा ऊर्जामन्त्री बनेपछि मुलुकबाट लोडसेडिङ करिव करिव अन्त्य हुने अवस्थामा पुगेको छ।यद्यपि, पहिलो चरणको स्थानीय तह चुनावमा शहरी क्षेत्र, खासगरी उपत्यकामा माओवादीले किन अपेक्षित जीत हासिल गर्न सकेन? राजधानी काठमाडौँ र आसपासका दुई जिल्ला ललितपुर र भक्तपुरमा माओवादीले किन आफ्नो मत सुरक्षित गर्न सकेन? 

विगतलाई सरसर्ती हेर्दा 

२०६४ चैत २८ को पहिलो संविधानसभा चुनावमा तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले उपत्यकामा रहेका १५ सिटमध्ये काठमाडौँमा चार र ललितपुरका तीन गरी सात सिटमा विजय हासिल गरेको थियो। एक लाख ११ हजार ५२६ मतसहित १५ मध्ये सात सिटमा माओवादी विजयी भएको थियो।

त्यतिबेला माओवादीले काठमाडौँमा प्रत्यक्षतर्फ जम्मा ६० हजार १७९ र समानुपातिकतर्फ एक लाख १३ हजार १०४ मत प्राप्त गरेको थियो भने ललितपुरमा प्रत्यक्षतर्फ ५१ हजार ३४७ र समानुपातिकतर्फ ५२ हजार ४३० मत प्राप्त गरेको थियो।

भक्तपुरमा रहेका दुई सिटमध्ये माओवादीले प्रत्यक्षतर्फ जीत हात पार्न नसके पनि समानुपातिकतर्फ भने २४ हजार ७५८ मत हात पारेको थियो। ०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीलाई उपत्यकाका जनताले तीन लाख एक हजार ८१८ मत दिएका थिए।

०७० साल मंसिर ४ मा सम्पन्न संविधानसभाको दोस्रो चुनावमा उपत्यकाका जनताले माओवादीलाई एक लाख तीन हजार १२९ मत दिएका थिए तर प्रत्यक्षतर्फको निर्वाचनमा उपत्यकामा १५ मध्ये एउटै सिट माओवादीले जोगाउन सकेन। समानुपातिकतर्फ भने माअाेवादीले ९२ हजार ४२ मत आफ्नो पक्षमा पारेकाे थियो।

संविधानसभाको दोस्रो चुनाव भएको ४ वर्षपछि ०७४ बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह चुनावमा माओवादी केन्द्रले आठ नगरपालिका प्रमुख, २८ गाउँपालिका अध्यक्ष र ३९६ वडा अध्यक्ष जितेको छ। उपत्यकाको हकमा भने काठमाडौँमा रहेका ११ स्थानीय तहमध्ये शंखरापुर र चन्द्रागिरि नगरपालिकाका दुई वडा, ललितपुर महागरमा चार वडा अध्यक्षसहित पूरै वडाको टिम र केही वडा सदस्य एवं ललितपुरको एउटा कोन्ज्योसोम गाउँपालिकामा बाहेक अन्य तहमा विगतको आफ्नै मतसमेत जोगाउन सकेन।

३, ४ र ६ प्रदेशमा भएको निर्वाचनमध्ये ४६ स्थानसहित तेस्रो भएको माओवादी केन्द्रले जेठ ८ गते हेडक्वाटर कमिटी बैठक बस्दै अपेक्षाकृत नतिजा आएको धारणा सार्वजनिक गरेको थियो। 

वर्तमानको समीक्षा: के भन्छन् माअोवादी नेता र विश्लेषक?

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार सिट संख्या धेरै नदेखिए पनि माओवादीले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भन्दा यस पटकको स्थानीय तह निर्वाचनमा केही बढी मत प्राप्त गरेको छ। प्रतिशतमा हिसाब गर्ने हो भने अघिल्लो पटक १२ प्रतिशत मत आएकोमा यस पटक १८ प्रतिशत मत आएको प्रवक्ता भुसाल बताउँछिन्।

काठमाडौँ जिल्ला इन्चार्ज लेखनाथ न्यौपाने नैतिक हिसाबले यो हारको जिम्मेवारी नेतृत्वले लिनुपर्छ भन्ने धारणा राख्छन्। निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम सरु हुनासाथ उनले यस्तो धारणा सार्वजनिक गर्दै आएका थिए। थाहा खबरसँगको कुराकानीमा पनि उनले यो कुरा दोहोर्‍याएका छन्। 

काठमाडौँमा कम मत आएपछि जिल्ला इन्चार्ज हुनुको नाताले नैतिक जिम्मा आफ्नो हुने भन्दै उनले छलफलका लागि ३ नम्बर प्रदेशमा मुद्दा दर्ता गराए पनि अहिलेसम्म त्यो विषयमा कुनै छलफल अगाडि नबढेकाे उनले बताए।

काठमाडौँमा कम मत आउनु पछाडिको मुख्य कारण कमजोर संगठन रहेको न्यौपानेले बताए। जिल्लामा १० हजार बढी पार्टी सदस्य रहे पनि पार्टी सुदृढ बन्न नसकेको हुनाले चुनावमा सोचेजति मत ल्याउन नसकेको उनको स्वीकारोक्ति छ।  काठमाडौँको माटो, यहाँको ऐतिहासिक परम्परा र समाज बुझ्न सक्ने लोकप्रिय उम्मेदवार बनाउन नसक्नु, प्रभावकारी हिसाबले प्रचार गर्न नसक्नु, आर्थिक समस्या जस्ता कुराले चुनाव हारिएको नेता न्यौपानेले बताए।

त्यसबाहेक सरकारका केही निर्णयको प्रभावले पनि हार्नुमा भूमिका खेलेको उनी बताउँछन्। सरकार गठनका सुरुवाती दिनहरूमा सरकार विदेशीको इशारामा चलेको र लम्पसारवादी भएको आरोप आएको थियो। ती अाराेप बिस्तारै चिर्न सफल भए पनि पछिल्ला दिनहरूमा प्रधानन्यायाधीशमाथिको महाभियोग प्रकरण, प्रहरी प्रमुख नियुक्तिका विवादलगायतका सरकारी निर्णयले काठमाडौँ र समग्र उपत्यकाको माओवादी माहोल र जनमत खस्किँदै गएको र त्यसलाई सशक्त ढंगले चिर्न नसक्दा चुनाव हारिएको नेता न्यौपानेले बताए।

चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलमा नै निर्वाचन अगाडि बढेको र समय कम भएका कारण आफूहरूले प्रचार प्रसारको लागि समय दिन नपाएकै कारण मत जोगाउन नसकिएको माअोवादीका ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल बताउँछन्। माओवादीका लागि चुनावी अनुभव कम भएका कारण पनि आफ्नो मत घटेको उनको विश्लेषण छ। चुनावमा पार्टीले टिकट दिएकाजति सबैको काम र व्यवहारमा एकरूपता नहुँदा पनि हार व्यहोर्नुपरेको उनले बताए। उनका अनुसार ललितपुर महानगरकै कतिपय वडामा माओवादीका उम्मेदवारले एक्लाएक्लै आफ्नालागि मात्र भोट मागेका थिए। 

कतिपय उम्मेदवारमा जित्ने आत्मविश्वास नभएको कारण पनि आफ्नो पक्षमा माहोल बनाउन नसकिएको उनले सुनाए। यसले गर्दा माओवादीको प्रतिवद्ध भोट पनि अरूलाई नै गएको उनको भनाइ थियो। 

भक्तपुरमा माओवादीले हार व्यहोर्नुका कारण केलाउँदै पार्टीका जिल्ला संयोजक देवी ढकाल भन्छन्, ‘हामी एक/डेढ वर्षको समय आन्तरिक अन्तरविरोधमै व्यस्त भयौँ, जसले गर्दा संगठन अस्तव्यस्त भयो।’ चुनावको मुखमै आएर संगठन निर्माण गरी दुई महिना मात्र काम गरे पनि त्यसले राम्रो नतिजा ल्याउन सक्दैन भन्नेमा भक्तपुरको पार्टी कमिटी जानकार रहेको उनको भनाइ छ। त्यहाँका एक जिल्ला नेता अगिव वनेपाली भन्छन्, 'भक्तपुरमा हामीले केवल अस्तित्व जोगाउनका लागि चुनावमा भाग लिएका हौँ।'

०६४ को पहिलो संविधानसभा चुनावमा प्रतिवद्ध संगठन र कार्यकर्ता पंक्ति भएको कारण बढी सिट जितिएको नेता अग्निप्रसाद सापकोटाको तर्क छ। उनी भन्छन्, 'त्यतिबेला हामीसँग व्यवस्थित संगठन थियो। नेताको एक आदेशमा मर्न र मार्न पछि नपर्ने कार्यकर्ता र सकै कुरा विश्वास गर्ने जनताको ठूलो पंक्ति थियो।' अहिलेको अवस्था भिन्न रहेको भन्दै नेता सापकोटा पछिल्ला दिनहरूमा माओवादीले धेरै टुटफुट र विभाजन व्यहोर्नुपरेको कारण पनि जनताप्रति माओवादीको विश्वास कम हुँदै गएको उनको विश्लेषण छ। 'त्यसैको प्रतिफल यो चुनावमा देखिएको हो', उनी भन्छन्। गाउँमा आफ्नो सिट राम्रै आएको भन्दै नेता सापकोटाले शहरीया जनतामा माओवादी पार्टीप्रति विश्वासको संकट रहेको बताए।

गत साल जेठ पहिलाे साता १० माअाेवादी घटकबीच पार्टी एकता भएको स्मरण गर्दै उनले भने, 'पार्टी छाडेर गएको एउटा ठूलो पंक्ति पार्टीमा फर्केर आइसके पनि हामीले बेलैमा पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्न सकेनौँ। संगठन सुदृढ नहुँदै चुनावमा होमिनुपरेको कारण पनि कम सिट आएको हो।' 

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला भने माओवादीले कत्ति मत ल्याउनेछैन, माओवादी सकियो भन्ने ठान्नेहरूलाई यो चुनावले गतिलै झड्का दिएको बताउँछन्। अध्यक्ष प्रचण्डले शहरकेन्द्रित नेता कार्यकर्तालाई गाउँ फर्काउन सकेको भए अझै धेरै सिट माओवादीले जित्ने भए पनि प्रचण्डले नेता कार्यकर्तालाई सही ढंगले निर्देशन गर्न नसक्दा केही मत गुमाउनुपरेको उनको भनाइ छ। 

पूर्व सभामुख तथा विश्लेषक दमननाथ ढुंगाना माओवादी पार्टीले अहिले जति सिट जितेको छ, यो धेरै भएकोे बताउँछन्। ‘मैले त माओवादी आन्दोलन मात्रै हो भन्ठानेको थिएँ तर यो पार्टी नै पो भइसकेको रहेछ’, केही व्यङ्ग्यात्मक शैलीमा उनले भने। आगामी दिनमा आफूलाई सुधार गर्दै लैजान सकेमा माओवादी पार्टीका लागि निकै उज्याला दिन सुरु भएको भन्दै ढुंगाना माओवादीले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारमा आफूलाई ढाल्न सकेमा जनताको विश्वास जित्न कतै जानु नपर्ने तर्क गर्छन्।

०६४ सालमा माओवादीलाई परम्परागत राजनीतिक दलभन्दा फरक वैकिल्पक शक्तिकाे रूपमा बुझेको हुनाले नै जनताले अत्यधिक मतले जिताएकाे तर परिपक्व राजनीतिक संस्कार देखाउन नसकेकै कारण ०७० को चुनावमा तेस्रो स्थानमा खुम्चिनुपरेकाे ढुंगाना बताउँछन्।

माओवादी जनयुद्धबाट आएको कारण जनतामा जनयुद्धकालका केही ह्याङओभर बाँकी रहेको भन्दै ढुंगानाले जनताले नयाँ पार्टी खोजेको र माओवादीले त्यो नयाँपन दिन नसकेको टिप्पणी गरे। काठमाडौँको मत परिणामले जनताको आशा नयाँ पार्टीमा बढ्दै गएको संकेत गरेको भन्दै उनले माओवादीलाई लोकतान्त्रिक मूल्य, मान्यतासहित राजनीतिमा उत्रन सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.