|

विराटनगर : प्रदेश १ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता सर्वसम्मत चयन भएका छन्।

एमालेले पुस १० गते सर्वसम्मत रूपमा हिक्मतकुमार कार्कीलाई दलको नेता चयन गर्‍यो भने माकेले मंगलबार इन्द्रबहादुर आङ्बोलाई दलको नेता चयन गर्‍यो।

दुईवटा दलले संसदीय दलको नेता चयन प्रक्रिया सिध्याएसँगै यतिवेला प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माकेले नै दाबी गरेका छन्। आइतवारदेखि संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले हो भने माके तेस्रो स्थानमा रहेको छ।

यसअघिको गठबन्धनमा नेपाली काँग्रेस र माके दुवैको प्रदेश १ को नेतृत्वमा दाबी थियो।

मुख्यमन्त्रीमा तानातान

प्रदेश १ मा ठूलो दल नेकपा एमाले भएकाले यहाँको नेतृत्व एमालेले पाउनेमा हिक्मत कार्की ढुक्क छन्। निर्वाचनमा सहकार्य गरेर आएको राप्रपा र जसपाको बहुमतसँगै नयाँ समीकरणको गठबन्धनले ६० सिट पुग्ने उनी बताउँछन्।

‘निर्वाचनमा हामीले सहकार्य गरेको जसपा र राप्रपा सहित स्पष्ट बहुमतमा छौँ। हालको सत्ता समीकरणमा माओवादी थपिँदा हाम्रो ६० सिट हुन्छ’, उनले भने, ‘केन्द्रीय सत्ताको बाँडफाँडमा अन्यथा नभए प्रदेश १ एमाले नेतृत्वमा सरकार बन्ने निश्चित छ।’

माकेका प्रदेश सचिव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले प्रदेश १ को मुख्यमन्त्रीका लागि केन्द्रमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई प्रस्ताव गरेको बताए। सत्ता बाँडफाँडमा प्रदेश १ माकेले पाउनुपर्ने दाबी रहेको उनले बताए।

उनका अनुसार प्रदेश १ मा माकेको नेतृत्वमा सरकार बनाउने पहल गर्न माकेका प्रदेश इन्चार्ज राम कार्कीको नेतृत्वमा तीन सदस्य समिति बनाइएको छ।

‘हामीले प्रदेश १ को नेतृत्व माकेले गर्नुपर्छ भन्ने पहल गर्न प्रदेश इन्चार्ज राम कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरेका छौँ’, उनले भने, ‘उहाँको नेतृत्वले अध्यक्ष प्रचण्डमार्फत डेलिगेशन गर्नुहुन्छ, १ नम्बरमा हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने सशक्त दाबी रहन्छ।’​

आङ्बोले विगतमा दुईपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। अनुभवको आधारमा आफू मुख्यमन्त्रीको दाबेदार रहेको उनी बताउँछन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माकेका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेश सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.